कम्युनिष्ट एक नभए विकास असम्भव : पूर्वप्रधानमन्त्री खनाल

कम्युनिष्ट एक नभए विकास असम्भव : पूर्वप्रधानमन्त्री खनाल

केन्द्रबिन्दु
0
Shares

इलाम,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले मुलुकलाई आवश्यकता परेकै कारण दुई ठूला शक्ति (एमाले र माओवादी केन्द्र) बीच एकता भएको बताउनु भएको छ ।

समान विचारधारा भएका शक्तिहरू फरक सङ्गठन र पार्टीमा रहँदा मुलुकको आवश्यकता पूरा नहुने भएपछि पार्टी एकता भएको खनालले जिकिर गर्नुभयो । उहाँले सबै कम्युनिष्ट एक नभएमा मुलुकमा विकास सम्भव नहुने बताउनुभयो ।

गृहजिल्ला इलाममा शुक्रबार पार्टीका कार्यकर्तालाई प्रशिक्षण दिँदै वरिष्ठ नेता खनालले पुष्पलालले पार्टी निर्माण गरेको ५६ वर्षपछि मात्र एकता भएर एक ठाउँ आइपुगेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका खनालले निर्वाचन पद्धति महँगो भएकाले परिवर्तन गर्नुपर्ने समेत विचार व्यक्त गर्नुभयो । निर्वाचन प्रणाली महँगो हुँदा सामान्य व्यक्तिले चुनाव लड्न नसक्ने अवस्था सिर्जना भएको बताउनुभयो ।

अधिनायक भन्नेहरु संविधान पढ्नुहोस् : नेम्वाङ

सोही कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले वर्तमान सरकारलाई अधिनायकवादी र लोकतन्त्र विरोधी भन्नेलाई संविधान पल्टाएर पढ्न सुझाव दिनुभएको छ । आफ्नै नेतृत्वले निर्माण गरेको संविधान आफैँले ‘कुल्चन’ नसक्ने भन्दै नेम्वाङले संविधानको मर्म र भावना बाहिर कोही पनि जान नसक्ने स्पष्ट पार्नुभयो ।

Logo