केन्द्रबिन्दु बुलेटिन : प्रतिनिधिसभा विघटन सम्बन्धी सबै रिट अब संवैधानिक इजलासमा (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : प्रतिनिधिसभा विघटन सम्बन्धी सबै रिट अब संवैधानिक इजलासमा (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँचवटा समाचार प्रस्तुत गर्ने गरेका छौं । आजका प्रमुख पाँच समाचारहरु मध्ये सर्वोच्च अदालतले प्रतिनिधिसभा (संसद्) विघटन सम्बन्धी परेका सबै रिटको सुनुवाइ संवैधानिक इजलासबाट गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा रहेका ती रिटहरूको सुनुवाइ संवैधानिक इजलासबाटै गरिने भएको हो ।

नेपाल सरकारले यूकेमा देखिएको कोरोना भाइरसको नयाँ प्रकारलाई मध्यनजर गर्दै यूकेबाट नेपाल आउनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । समस्या आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसी निर्देशक समिति बैठकले यूकेबाट नेपाल आउन प्रतिबन्ध लगाउने निर्णय गरेको हो । तर, नेपालमा कोरोना भाइरस महामारी मच्चिइरहेकै बेला परीक्षण कम गरेकोप्रति गम्भीर चिन्ता प्रकट गर्दै भाइरसले खेल्ने ठाउँ धेरै पाए नेपालमै पनि नयाँ कोरोना भाइरसको प्रकार उत्पत्ति हुन सक्ने भन्दै जनस्वास्थ्य जनस्वास्थ्यविद्हरूले चिन्ता व्यक्त गरेका छन् ।

काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोला जोडने सुरुङमार्गको निर्माण कार्य शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्याश गरेकोे १४ महिनापछि सुरुङ खन्ने काम शुरु भएको हो । सन् २०२२ को अन्तिम सम्ममा निर्माण सम्पन्न गर्नुपर्ने यो सुरुङमार्ग कोभिडका कारण प्रभावित भएपछि सुरुङ खन्ने काम ढिलो गरी शुरु भएको छ ।

नेकपाको (प्रचण्ड–नेपाल) पक्षले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ । आफू संसदीय दलको नेतामा चयन भएसँगै अध्यक्ष प्रचण्डले सवैसँग सहकार्य गर्दै नयाँ सरकार गठन गर्नेमा आफ्नो ध्यान जाने पनि उल्लेख गरेका छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले मंगलबारको केन्द्रीय कमिटीको बैठकबाट भएका निर्णयहरु निर्वाचन आयोगमा पनि बुझाएको छ ।

इजरायलमा संसद विघटन भएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गठबन्धन गरेका रक्षा मन्त्री बेन्नी गान्ट्जसँग कुरा नमिलेपछि बुधवार संसद विघटनको घोषणा गरेका हुन् । मंगलवारसम्म बजेट पारित गराउन पर्ने समयवधि सकिएपछि नेतान्याहुले संसद विघटन गर्दै निर्वाचन घोषणा गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

Logo