काठमाडौं । नेकपा युवा नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री नियुक्त भएका छन् । तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सम्हाल्दै आएका थिए । मन्त्री पद खाली रहेको पाँच महिनापछि प्रधानमन्त्री ओलीले भट्टराईलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
संघीय संसदको चुनावी अभियानका क्रममा १९ कार्तिक ०७४ मा ताप्लेजुङ पुगेर तत्कालीन एमाले अध्यक्ष ओलीले चुनावी भाषण गरेका थिए । उक्त भाषणमा उनले भनेका थिए, ‘योगेश भट्टराई भबिष्यको राम्रो सम्भावना भएको सक्रिय युवा नेता हो । यहाँ (ताप्लेजुङ) बाट तपाईंहरुले प्रतिनिधि सभामा जिताएर पठाउनुस् । काठमाडौंमा योगेशलाई मन्त्री बनाउने जिम्मा मेरो भो ।’ प्रधानमन्त्री ओलीले आफ्नो वाचा अढाई वर्षपछि पूरा गरेका छन् ।
विक्रम संवत २०२३ साल भदौ २१ गते ताप्लेजुङको साँघुमा जन्मिएका योगेश २०३६ सालको विद्यार्थी आन्दोलनबाट वाम राजनीतिमा प्रवेश गरेका थिए । बुबा भीमलाल भट्टराई र आमाको नाम महेन्द्रादेवी भट्टराईको कोखबाट जन्मिएका उनी समाजशास्त्र र मानवशास्त्र विषयमा एमएसम्मको अध्ययन गरेका छन् ।
परिवारका सदस्यहरु पनि बामपन्थी पृष्ठभूमीकै थिए । यही क्रममा उनले २०३७ सालमा अनेरास्ववियुको राजनीति थाले । विद्यार्थीको प्रारम्भिक कमिटी हुँदै क्याम्पस कमिटीमा समेत बसेर काम गरेका भट्टराई २०५१ सालमा अनेरास्ववियूको अध्यक्षमा निर्वाचित भए । त्यसपछि नेकपा एमालेको जिल्ला कमिटी, अञ्चल कमिटी हुँदै केन्द्रीय सदस्यसम्म पुगे । उनी तत्कालिन एमाले प्रचारविभाग प्रमुख तथा केन्द्रीय सचिव समेत बने ।
एसएलसीपछि उच्च शिक्षाका लागि २०४० सालमा राजधानीको ताहाचलस्थित महेन्द्ररत्न क्याम्पसमा भर्ना भएका थिए । पञ्चायती व्यवस्था विरोधी आन्दोलनका क्रममा १८ वर्षको उमेरमा नै पहिलोपटक काठमाडौंको केन्द्रीय कारागारमा थुनिएका थिए । सरल, सक्रिय, स्पष्ट र जुझारु स्वभावका कारण योगशेलाई महेन्द्ररत्न क्याम्पसको नेतृत्व लिन धेरै समय लागेन । छोटो समयमै क्याम्पसमा लोकप्रिय र जुझारू नेताका रूपमा स्थापित भए ।
२०४१ सालमा महेन्द्ररत्न क्याम्पसको स्ववियु निर्वाचनमा उपसभापति र २०४३ सालमा सभापति पदमा अत्यधिक मतले विजयी भए । देशभरिका हजारौं विद्यार्थीको उपस्थिति रहेको त्यो मञ्चमार्फत उनको राजनीतिक यात्राले एउटा उचाइ प्राप्त गरेकाे थियो ।
पञ्चायती व्यवस्था र राजतन्त्रविरुद्ध दृढतापूर्वक अघि बढ्दै जाँदा उनले थुप्रै पटक जेलनेल र कठोर यातना भोग्नुपर्यो । जेल बसाइका बेला झापा संघर्षका चर्चित अगुवाहरू केपी ओली, आरके मैनाली, मोहनचन्द्र अधिकारीलगायत राजनीतिक बन्दीहरूसँग नजिकबाट अन्तक्रिया गर्ने अवसर पाए, जसबाट राजनीतिक यात्रालाई अझ निखार बनाउन सहयोग पुुग्यो ।
राष्ट्रियताको आन्दोलनका अगुवा योगेशको आमव्यक्तित्व नेपाली राष्ट्रियताको पक्षमा संगठित ढंगले आवाज बुलन्द गर्ने एक देशभक्त तथा प्रखर राष्ट्रवादी नेताका रूपमा स्थापित छ । राष्ट्रवादी आन्दोलनका अनेक महत्वाकांक्षी कार्यक्रमलाई कार्यान्वयन गरेर उनले भारतले कब्जा गरेको नेपाली भूमि कालापानी फिर्ता गराउन अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरे ।
२०५५ जेठमा काठमाडौंदेखि दार्चुलाको कालापानीसम्म भएको ऐतिहासिक काठमाडौं–कालापानी मार्चको नेतृत्व गरेर योगेशले आफ्नो राष्ट्रवादी छविलाई झन् अग्लो पारे । पूर्व पाँचथरको च्याङ्थापुदेखि सुस्ता, महेशपुर, टनकपुर हुँदै कालापानीसम्मको सीमासुरक्षा अभियानको अगुवाइ योगेशकै नेतृत्वमा भयो । त्यहीदेखि कालापानी मुद्दा राष्ट्रिय बहसको साझा विषय बनेको थियो ।
त्यस्तै, उनले २०४५ सालमा भारतले नेपालमाथि गरेको नाकाबन्दीविरुद्ध विद्यार्थी नेताका रूपमा आन्दोलनको अगुवाइ गरे । २०७१ सालमा भारतले नेपालमाथि लगाएको नाकाबन्दीविरुद्ध पार्टीका नेताका रूपमा आन्दोलनको अगुवाइ गरे । नेपालको सार्वभौमिकता, स्वतन्त्रता, नेपाली नेपालीबीचको एकताको पक्षमा उनले सम्झौताहीन संघर्ष गर्दै आएका छन् ।
२०६४ सालको पहिलो संविधानसभा चुनावमा पनि काठमाडौं क्षेत्र नम्बर ६ बाट र २०७० सालको दोस्रो चुनावमा काठमाडौं क्षेत्र नम्बर ५ बाट पराजित भएका उनी २०७४ सालको निर्वाचनमा ताप्लेजुङबाट भारी मतले विजयी भएका थिए ।
एक मात्र प्रतिनिधिसभा सदस्य रहेको ताप्लेजुङमा वाम गठबन्धनको तर्फबाट भारी मत अन्तरले विजयी भएका थिए । भट्टराई लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका केशवप्रसाद दाहाललाई १२ हजार पाँच सय ९१ मतले हराउँदै विजयी भएका थिए ।
आन्दोलन र राजनीतिक जिम्मेवारीसँगसँगै उनले आफ्नो पढाइलाई पनि निरन्तरता दिइरहे । योगेशले २०५१ सालमा ताप्लेजुङ ढुंगेसाँघु निवासी विन्दा घिमिरेसँग विवाह गरे । युवापुस्ताका एक आशालाग्दा अनुहार मन्त्री बनेसँगै युवा नेताहरुमा पनि उत्साह पलाएको छ । उनी मन्त्री बनेसँगै सामाजिक सञ्जालमा बधाईको बाढी नै लागेको छ ।





























प्रतिक्रिया