पार्टी कार्यालयमै कुटिए राप्रपा नेता श्रेष्ठ, प्रहरीलाई गृहमन्त्री रविले दिए यस्तो निर्देशन[भिडियाेसहित]

पार्टी कार्यालयमै कुटिए राप्रपा नेता श्रेष्ठ, प्रहरीलाई गृहमन्त्री रविले दिए यस्तो निर्देशन[भिडियाेसहित]

केन्द्रबिन्दु
56
Shares

आदेशका आधारमा नभई प्रमाणका आधारमा प्रतिवादी बनाउनुः रवि लामिछाने
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले कुनै पनि घटनामा आदेशका आधारमा नभई प्रमाणका आधारमा प्रतिवादी बनाउन प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । गृहमन्त्री भएपछि पहिलोपटक प्रहरी प्रधान कार्यालयको आज निरीक्षण गर्दै लामिछानेले यस्तो निर्देशन दिएका हुन् । साथै उनले हरेक नागरिकले सुरक्षाको अनुभूति हुने गरी सेवा प्रवाह गर्न र अनुहार, पद, प्रतिष्ठा हेरेर नभइ प्रमाणका आधारमा निष्पक्ष भएर अनुसन्धान तथा कारबाही अघि बढाउन पनि पनि निर्देशन दिएका छन् ।

नवनियुक्त मन्त्रीहरुले लिए शपथ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दल जनता समाजवादी पार्टी जसपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा सहभागि भएको हो । जसअनुसार अध्यक्ष यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री र नबलकिशोर साह वन मन्त्री बनेका छन् । यससँगै प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २२ सदस्यीय बनेको छ ।

आज राष्ट्रिय सभा अध्यक्षको चुनाव हुने
राष्ट्रिय सभा अध्यक्षको चुनाव मङ्गलवार हुने भएको छ । आज बसेको राष्ट्रिय सभा बैठकमा सभाको अध्यक्षता गरेकी उपाध्यक्ष उर्मिला अर्यालले फागुन २९ गते मतदानको मिति तोकेकी हुन् ।सार्वजनिक तालिका अनुसार सोमबार ११ बजे देखि १ बजे सम्म उमेदवारी दर्ताको समय निर्धारण गरिएको छ । यस्तै, साढे १ बजे उमेदवारको नामावली प्रकाशित गरिनेछ । तर, हालसम्म दलहरुले उम्मेदवार भने टुंगो लगाएका छैनन् ।

ठाकुरमोहन श्रेष्ठ कुटिए
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ठाकुरमोहन श्रेष्ठ पार्टी कार्यालयमै कुटिएका छन् ।आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा महामन्त्री विक्रम पाण्डेका समर्थकहरूले पूर्वएआईजीसमेत रहेका श्रेष्ठमाथि हातपात गरेका हुन् । बैठकमा आफ्नो भनाइ राख्ने क्रममा उनले महामन्त्री पाण्डेलाई ‘भ्रष्टाचारी’ भनेपछि बैठक तनावपूर्ण बनेको थियो । आरोप प्रत्यारोप चलको केहीबेर पछि अध्यक्ष राजेन्द्र लिङदेनको कार्यकक्ष बाहिर श्रेष्ठ कुटिएका हुन् ।ठाकुरमोहनको शरीरमा चोटपटक लागेको छ । यस घटनामा राप्रपा केन्द्रीय कार्यालयले भने सिसी टिभी फुटेज हेरेर कारबाही प्रक्रियामा जाने जनाएको छ।

प्रधानमन्त्री प्रचण्डले धोका दिएः सिटौला
नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले आफूलाई धोका दिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष रोष प्रकट गरेका छन् । प्रधानमन्त्रीले धोकाधडीको राजनीति सुरु गरेको भन्दै उनले यो यहीं नटुंगिने चेतावनी समेत दिएका छन् । राष्ट्रिय सभा अध्यक्ष बन्ने तयारीका साथ सिटौलालाई राष्ट्रियसभामा आएका थिए । तर, प्रधानमन्त्री प्रचण्डले २१ फागुनमा गठबन्धन फेरेसँगै सिटौला राष्ट्रिय सभा अध्यक्ष बन्ने बाटो बन्द भएको छ ।

पशुपतिनाथ मन्दिरमा आएका साधुसन्तलाई बिदाई गरियो
महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर आएका साधुसन्तलाई बिदाइ गरिएको छ । आइतबार पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित विभिन्न ठाउँबाट पशुपतिनाथमा आएका साधुसन्तहरुको बिदाई गरेको हो । कोष र गुठी संस्थानले शिवरात्रीमा आएका साधुसन्तहरुलाई वर्षेनी दक्षिणासहित बिदाई गर्दै आइरहेको छ ।

उपनिर्वाचनमा सुहाङ नेम्वाङले दिए निवेदन
इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचनमा दिवंगत एमाले नेता सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङले प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवार बन्न पार्टीमा निवेदन दिएका छन् । उपनिर्वाचनका लागि पार्टीबाट उम्मेदवार बनाउन सुहाङले पार्टीको इलाम जिल्ला कमिटीमा निवेदन दिएका हुन् । उनी केही समयदेखि गृहजिल्ला इलाम र उक्त निर्वाचन क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।

सुनले मूल्यमा बनायो नयाँ रेकर्ड
नेपाली बजारमा सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ आज अहिलेसम्मकै उच्च तोलाको १ लाख २६ हजार रुपैयाँ पुगेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले आगामी वर्षको मंसिरसम्ममा सुनको मूल्य प्रतितोला १ लाख ८० हजारसम्म पुग्ने बताएका छन् । केन्द्रबिन्दुसँग कुराकानी गर्दै शाक्यले सुनको मूल्य यसरी नै बृद्धि हुँदै गए मंसिरसम्ममा उक्त मूल्य पुग्ने बताएका हुन् ।

अधिकांश सूचक सकारात्मकः राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा आधारित ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्ममा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति पाँच दशमलव ०१ प्रतिशत रहेको छ । यसैबिच चालु आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २१.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ३९ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको थियो ।

कोशी प्रदेशको नाम ‘लिम्बुवान किरात’ राख्न प्रस्ताव
किरात याक्थुङ चुम्लुङले कोशी प्रदेशको नाम ‘लिम्बुवान किरात’ राख्न प्रस्ताव गरेको छ । इलाम सदरमुकाममा भएको लिम्बू सांस्कृतिक महोत्सव तथा चुम्लुङको २५औं राष्ट्रिय चुम्लुङले ३० बुँदे माग अघि सार्दै यस्तो प्रस्ताव गरेको हो । सम्मेलनपछि केन्द्रीय अध्यक्ष प्रेम एक्तेनले लिम्बूहरूको ऐतिहासिक थातथलो, इतिहासका अनेकौं सांस्कृतिक महत्वका विषय विकासका नाममा नष्ट गरिँदै गएकामा समीक्षा गरिएको बताए ।

१० अङ्कले नेप्सेमा वृद्धी
आज नेप्से परिसूचक २२ दशमलव १० अङ्कले बढेर दुई हजार ५२ दशमलव ६५ को बिन्दुमा कायम भएको हो । आज तीन सय चार कम्पनीका ७० लाख ४३ हजार चार सय ५७ कित्ता शेयर ५६ हजार सात सय २६ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ९२ करोड २७ लाख ७१ हजार पाँच सय ५८ बराबरको कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रु २२ करोड ९३ लाख २५ हजार छ सय ४३ बराबरको चार लाख ३० हजार एक सय ३१ कित्ता शेयर किनबेच भएको छ ।

नाइजेरियामा थप १९ जना अपहरणमा परे
नाइजेरियामा गएको बिहीबार अपहरणमा परेका २ सय ५२ जना विद्यार्थीको खोजी चलिरहँदा थप १९ जना पनि अपहरणमा परेका छन् । सोकोटोको एक विद्यालयबाट १५ जना विद्यार्थी र चार जना महिलालाई बन्धुकधारीले अपहरण गरेका बीबीसीले जनाएको छ ।स्थानीय सांसद बशीर उस्मान गोराउले हिजो बिहान सबेरै १९ जना अपहरणमा परेका बताउनुभएको खबरमा उल्लेख छ । सेनाले बिहीवार पश्चिमी शहर कुरिगामा अपहरणमा परेका स्कुलका विद्यार्थीहरूको खोजी गरिरहेको छ ।

वर्षाका कारण खेल रद्द
हङकङमा भएको त्रिकोणात्मक टी–२० शृङ्खलाअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ ।हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा हङकङले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो । तर पहिलो पारीको आठौँ ओभरमा चलिरहँदा पानी परेपछि खेल रोकिएको हो । अब नेपालले यहि फागुन २९ गते पपुवा न्यूगिनीसँग प्रतिष्पर्धा गर्नेछ ।

Logo