सहकारी प्रकरणदेखि विनोद चौधरीबारे गृहमन्त्रीले भने- ‘प्रतिशोध राख्ने काम हुने छैन’ [भिडियाेसहित]

सहकारी प्रकरणदेखि विनोद चौधरीबारे गृहमन्त्रीले भने- ‘प्रतिशोध राख्ने काम हुने छैन’ [भिडियाेसहित]

केन्द्रबिन्दु
168
Shares

काठमाडौं । उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेले उजुरी दर्ताको विषय सिधैं गृहमन्त्रीकै तहबाट हेर्नेगरी संयन्त्र निर्माण गर्नेबारे छलफल अन्तिम चरणमा पुगेको बताएका छन् ।

बुधबार राज्य व्यवस्था समितिमा भएको छलफलमा गृहमन्त्री लामिछानेले उजुरी दर्ताको प्रवृत्तिमा धेरै गुनासो आएको भन्दै यसको लागि व्यवस्थित संयन्त्रको तयारी अन्तिम चरणमा पुगेको बताएका हुन् ।

उनले भने, ‘उजुरी दर्ताको प्रवृत्तिमा गुनासो धेरै छ । त्यस्ता गुनासोहरु हाम्रो निकायका अधिकारीहरुले गरेका कमी कमजोरीहरुलाई गृहमन्त्रीकै तहबाट हेर्ने एउटा संयन्त्र बनाउने तयारीमा छौं । त्यसका लागि छलफल अन्तिम चरणमा छ । त्यस्तो हुँदा सोझै गृहमन्त्रीलाई पनि खबर आउने र आम जनमानसको चेतनालाई मध्यनजर राख्न सकिन्छ भन्ने लागेको छ । सोझै हामीसम्म आईपुग्ने संयन्त्रको लागि अन्तिम तयारीमा छौं ।’

यस्तै, गृहमन्त्री लामिछानेले सांसदहरुले सुरक्षाको सन्दर्भमा उठेका प्रश्नको जवाफ दिदैँ सुविधाका नाममा राष्ट्रसेवक कसैको भाडा माँझेर, लुगा धोएर र अगाडि पछाडी हल्लिएर नहिड्ने स्पष्ट पारे ।

उनले भने, ‘सांसदहरुले सुरक्षा माग गर्दा त्यसको अवस्था हेरेर गम्भीरतापूर्वक लिइएको छ । तर सुविधाका नाममा हाम्रा राष्ट्रसेवक कसैको भाडा माझेर, लुगा धोएर बस्दैनन् र अगाडि पछाडी हल्लिएर हिड्दैनन् । आवश्यकताका आधारमा गृहमन्त्री गम्भीर र जिम्मेवार छ । तर कानूनी अधिकारको दुरुपयोग गर्ने हो भने त्यसलाई हामी स्वीकार गर्न सक्दैनौं ।’

गृहमन्त्री लामिछानेले राज्यको निकायमा बसेर आफूसँग भएको राजनीतिक, व्यक्तिगत र व्यवसायिक पूर्वाग्रही राख्ने मानिस पदको लायक नभएको भन्दै आफ्नो कार्यकालमा कहींकतै त्यसको गुन्जायस नहुने दाबी गरे ।

उनले भने, ‘राज्यको निकायमा बसेर आफूसँग भएको राजनीतिक, व्यक्तिगत र व्यवसायिक पूर्वाग्रही राख्ने हो भने त्यो मानिस त्यसका लागि लायक हुँदैन । राजनीतिक वा अन्य पूर्वाग्रहम आफ्नो कार्यकालमा आफ्नो तर्फबाट कहींकतै त्यसको गुन्जायस नहुने कुराको सुनिश्चित व्यक्त गर्न चाहन्छु । कानुनले दिएको अधिकारलाई दुरुपयोग गर्ने हो भने समाज कहाँ जान्छ, हामी यसमा सचेत छौं ।’

उनले विधिको शासनलाई ध्यानमा राखेर कानुन पालना गर्ने कुरामा कानुन पल्टाउने भन्दै कानुनभन्दा बाहिर रहेर प्रतिशोध राख्ने काम आफूबाट नहुने पनि बताए । सहकारी प्रकरणमा आफ्नो नाम मात्र उल्लेख भएको स्पष्ट पारे । ‘उजुरीमा मेरो नामबाहेक केही छैन । न हस्ताक्षर न ल्याप्चे छ । न सामान्य फर्म भरिएको छ । मेरो नामबाहेक केही छैन । अदालतमा दर्ता भएको मुद्दामा म प्रतिवादी छैन । बयानमा पनि मेरो नाम उल्लेख भएको छैन,’उनले भने ।

उनले आफू सरकारमा सहभागी हुनुभन्दा पहिला नै सहकारी प्रकरणमा नाम उल्लेख गरिएको बताउँदै अहिले प्रभावित हुने काम नहुने बताए ।

त्यस्तै, गृहमन्त्री लामिछानेले सांसद विनोद चौधरीका बारेमा पनि जवाफ दिएका छन् । उनले पहिला थुन्ने र कुरा सुन्ने काम चौधरीको हकमा सरकारले नगरेको स्पष्ट पारे । ‘सरकारले पहिला थुन्ने अनि सुन्ने गर्दैन । पहिला सुन्नपर्छ, नसुनी थुन्न हुँदैन भन्ने कुरामा मेरो बुझाई छ’, उनले भने, ‘त्यहीअनुसार माननीय विनोद चौधरीको केसमा पनि भएको हो । कसैप्रति दुषित पूर्वाग्रह राख्ने काम हामीबाट हुँदैन ।’

Logo