काठमाडौं । गुठी विधेयकको विवादमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरु आरोप प्रत्यारोपमा उत्रिएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसहरुबीच आरोप प्रत्यारोप चलेको हो ।
नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडुले विधेयक फिर्ता लिन माग गरे । सडकमा भइरहेको आन्दोलनलाई कांग्रेसको समर्थन रहेको भन्दै सांसद बडुले उक्त विधेयक तत्काल फिर्ता लिन माग गरेका हुन् ।
‘सडकमा चलिरहेको जायज आन्दोलनमा नेपाली कांग्रेसको समर्थन छ। ऐक्यवद्धता जनाउन चाहन्छ। तत्काल उक्त विधेयक फिर्ता लिएर वार्ता र सम्वादमा सरकार जाओस्। अन्यथा उत्पन्न हुने परिस्थितिका लागि सरकार स्वयम् जिम्मेवार हुनेछ। प्रधानमन्त्री विचार गरिनेछ भन्ने, सरकारकै प्रवक्ता सामन्ती चरित्रको अन्त्य गरिन्छ भन्ने दोहोरो चरित्र हामीलाई मान्य छैन। विधेयक तत्काल फिर्ता होस् ।’ उनले भने ।
उनको भनाईप्रति कटाक्ष गर्दै सत्तारुढ नेकपा सांसद खगराज अधिकारीले कांग्रेसलाई विगतमा आफैँले गरेको काम सम्झन स्मरण गराए ।
अधिकारीले भने ‘नेपाली काँग्रेसको सरकारले गुठीलाई रैकरमा १६० रुपैयाँ लिएर जमिनदारका नाममा दर्ता गर्दा धर्म संस्कृति कहाँ हरायो ? धर्म, संस्कृति, कला साहित्यका लागि निरन्तर लडिरहेको नेकपा बारेमा बोल्नेहरूले एक पटक आफ्नो अनुहार हेर्नुपर्छ।’





























प्रतिक्रिया