काठमाडौं । सत्ता घटकमा रहेका नेताहरूले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम सकारात्मक भएको बताएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत उक्त कार्यक्रमबारे सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नवगठित जनता समावजादी पार्टीका अध्यक्ष अशोक राईले मुलुकका लागि केही गरौँ भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हुटहुटी यसले बोकेको बताएका हुन् । उनले यसमा धेरै विषयस्तु समेटिएकाले सकारात्मक भएको टिप्पणी गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आशालाग्दो भएको र यसले अर्थतन्त्रलाई कसरी सुधार ल्याउने विषय प्राथमिकतामा राखेकाले यसको कार्यान्वयनमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिए ।
तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र विपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूले सरकारको आगामी आर्थिक वर्ष २०८१/ ८२ को वार्षिक नीति तथा कार्यक्रमको आलोचना गरेका छन् । कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले सरकारको भनाइ र गराइमा आकाश जमिनको फरक रहेको टिप्पणी गरे । “ सरकारको भनाइ एकातिर छ, गराइ ठीक उल्टो छ । त्यसैले यो नीति तथा कार्यक्रम कार्यान्वयन हुन्छ भन्नेमा रत्तिभर विश्वास छैन ।”
सोही पार्टीका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई आशा जगाउने कुनै पनि विषयवस्तु नआएको जनाए । “यो परम्परागत छ । यसमा नयाँ उत्साह छैन । महत्वपूर्ण कुरा छुटेका छन् । विश्वव्यापी आर्थिक सङ्कटबाट परेको मारबाट मुलुकलाई माथि उठाउने ठोस नीति छैन । जनचासोका रुपमा रहेको सहकारी ठगीका कुरा पनि आएन”, उनले भने ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले नीति तथा कार्यक्रममा ‘हुन्छ र गरिनेछ’ भन्ने कुरा मात्रै सीमित रहेको जिकिर गर्दै रोजगारी दिने र कृषि प्रविधिलाई प्राथमिकता दिने नीति नभएको प्रतिक्रिया दिए ।





























प्रतिक्रिया