काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले छायाँ सरकार गठन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले छायाँ सरकारको रुपमा काम गर्न मन्त्रालय स्तरीय समन्वय समिति बनाएका हुन् । उनले संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार उक्त मन्त्रिमण्डल गठन गरेका हुन् ।
दिलेन्द्रप्रसाद बडूलाई गृह मन्त्रालयको जिम्मेवारी दिईएको छ । त्यस्तै उर्जा समितिको संयोजकमा ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्रमा नारायण खड्का, अर्थमा मिनेन्द्र रिजाल संयोजक तोकिएका छन् ।
शहरी विकासमा उमाकान्त चौधरी, खेलकुदमा किशोर सिंह राठौर, उद्योगमा मीन विश्वकर्मा, शिक्षामा गगन थापा, खानेपानीमा सुजाता परियार, स्वास्थ्यमा पार्वती डिसी चौधरी, पर्यटनमा देवेन्द्र कँडेल, श्रममा डिला संग्रौला, सञ्चार समितिको संयोजकमा बहादुर सिंह लामा संयोजक तोकिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
त्यस्तै भूमिसुधारमा लक्ष्मी परियार, संघीय मामिलामा अतहर कमाल मुसलमान, कृषिमा पद्मनारायण चौधरी, महिलामा उमा रेग्मी, रक्षामा भीमसेनदास प्रधान, भौतिक पूर्वाधारमा सञ्जयकुमार गौतम, वनमा राजेन्द्र केसी र कानुन मन्त्रालयको समितिको संयोजकमा राधेश्याम अधिकारी तोकिएका छन् ।
२०७५ पुषमा बसेको कांग्रेस संसदीय दलको बैठकले वर्तमान सरकारका कामकारवाहीमाथि निगरानी तथा खबरदारी गर्न छाँया सरकार गठन गर्ने निर्णय गरेको थियो । निर्णय गरेको ६ महिनापछि कांग्रेसले छाँया सरकार गठन गरेको हो ।
अब सम्बन्धित मन्त्रालयका छाँया मन्त्रीहरुले वर्तमान सरकारका मन्त्रालयका गतिविधिबारे निगरानी राख्नेछन् । हरेक मन्त्रीले आफ्नो मन्धालय अन्तर्गत रहेर नियमित अध्ययन, अनुसन्धान, तथ्याङ्क सङ्कलन र लेखन-प्रकाशनको काम गर्नेछन् । सम्बन्धित विषयमा पार्टीलाई निम्तो आउँदा या प्रश्न आउँदा तिनै छाँया मन्त्रीले जवाल दिनेछन् ।
छाँया सरकारले सरकारलाई सही बाटोमा डोर्याउने कांग्रेस नेताहरुको दाबी छ । सरकारको काम कारबाहीलाई लिएर सत्तारुढ दल तथा विभिन्न क्षेत्रबाट विरोध भइरहँदा कांग्रेसले छाँया सरकार गठन गरेको हो । यो छाया सरकारले वर्तमान ओली सरकारलाई धेरै सहयोग पुग्ने अनुमान गरिएको छ ।





























प्रतिक्रिया