तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छः स्वर्णिम वाग्ले

तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छः स्वर्णिम वाग्ले

केन्द्रबिन्दु
15
Shares

दमौली (तनहुँ) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं तनहुँ–१ का सांसद डा स्वर्णिम वाग्लेले तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

तनहुँ जिल्ला भलिबल सङ्घले आयोजना गरेको अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता समापन कार्यक्रममा आज उनले नेपालकै मध्यभागमा अवस्थित तनहुँमा खेलकुदको पर्याप्त सम्भावना रहेकाले त्यसलाई सम्बोधन योजनाबद्ध ढङ्गले लाग्नुपर्ने बताएका हुन् ।

डा वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा खेलकुदतर्फ केही बजेट वृद्धि भएको बताए । उनले भने, “खेलकुदमा नेपालले धेरै प्रगति गरेको छ । अहिलेको बजेटमा पनि खेलकुदतर्फको रकम केही वृद्धि भएको छ”, उनले भने, “खेलकुदको विकासका लागि सरकारका तर्फबाट पहल हुनुपर्छ । यहाँ खेलकुद विकासका लागि के गर्न सकिन्छ त्यसबारेमा सम्बन्धित पक्षसँग पहल गर्नेछौँ ।” नेपालमा खेलकुद कूटनीतिलाई अगाडि बढाउनुपर्ने अवस्थासमेत औँल्याए । नेपालमा केही भएन भन्ने युवामाझ नैराश्यमात्रै रहेकाले त्यस्तो भाष्यलाई चिर्न अब कुराभन्दा काममा जोड दिनुपर्ने उनको भनाइ थियो ।

आज घिरिङ गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाबीच भएको फाइनल खेल हुरी र पानीले स्थगित भएको छ । दुवै टिमले एक–एक सेट जितेपछि तेस्रो सेट खेल्दै गर्दा खेल स्थगित भएको हो ।

भिमाद नगरपालिकालाई हराउँदै शुक्लागण्डकी नगरपालिका फाइनलमा पुगेको थियो । शुक्लागण्डकीले भिमादलाई सोझो सेटमा पराजित गरेको थियो । त्यस्तै ऋषिङ गाउँपालिकालाई हराउँदै घिरिङले फाइनलयात्रा तय गरेको थियो । घिरिङले पनि ऋषिङलाई सोझो सेटमा हराएको हो । तेस्रो स्थानका लागि भिमाद र ऋषिङबीच खेल भएकामा भिमाद तेस्रो भएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद रु एक लाख एक हजार एक सय ११, द्वितीयलाई रु ५१ हजार एक सय र तेस्रो हुनेलाई रु २५ हजार एक सय ११ नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने सङ्घका महाससचिव अशोक गिरीले जानकारी दिनुभयो ।

प्रतियोगितामा जिल्लाका आँबुखैरेनी गाउँपालिकाबाहेक नौवटा पालिकाको सहभागिता रहेको थियो । प्रतियोगितामा व्यास, भानु, शुक्लागण्डकी र भिमाद नगरपालिका तथा ऋषिङ, घिरिङ, म्याग्दे, बन्दीपुर र देवघाट गाउँपालिकाको सहभागिता जनाएका छन् ।

Logo