काठमाडौं ।
एक हप्तापछि आज बसेको नेकपा स्थायी कमिटीको बैठक शोक प्रस्ताव पारित गर्दै सकिएको छ । बालुवाटारमा शुरु भएको केही बेरमै बैठक सकिएको हो । आजको बैठकमा नेकपाका केन्द्रीय सदस्य एवं पूर्वसांसद कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पेश गरिएको थियो । लामाको मंसिर २४ गते निधन भएको थियो ।
आजको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुबै जनाको उपस्थिति रहेको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारी अनुसार अर्को बैठक पुस १ गते १ बजे बस्नेछ ।
विश्व मानव समाज कोभिड–१९ को त्रासमा परिरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुको अन्तरविरोधले राजनीतिक चासो बढाएको छ ।
आइतबार बस्ने नेकपा स्थायी कमिटीको बैठकमा पार्टीभित्रको अन्तरविरोध र सङ्कटको समाधानबारे छलफल हुने भनिए पनि निकासका लागि भइरहेका अनौपचारिक गृहकार्य पर्याप्त भएका छैनन् । स्थायी कमिटीको बैठक लम्बिएका कारण पूर्व निर्धारित मङ्सिर २५ गते बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक आगामी पुस ५ गतेका लागि सारिएको छ ।
सो पार्टीको पछिल्लो सचिवालय बैठकले पार्टीभित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन स्थायी कमिटीमा लैजाने निर्णय गरेको थियो । मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको लिखित प्रस्तावपत्रका सम्बन्धमा शीर्ष नेताहरुबीच विवाद हुँदै आएको छ ।
नेकपाभित्र मन्त्रिपरिषदमा हेरफेर, राजदूत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्यकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भई नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयलसँग गरेको भेटवार्ता आदिबारे विवाद उत्पन्न भई अध्यक्षद्वयबीच लिखित आरोप–प्रत्यारोपपत्रको क्रम चलेको छ । शीर्ष नेताहरुको विवाद मिलाउन स्थायी कमिटी र केन्द्रीय कमिटीका सदस्य कतिसम्म सफल हुन्छन् भन्ने चासो पनि देखिएको छ ।





























प्रतिक्रिया