काठमाडौं ।
केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँच वटा समाचार प्रस्तुत गर्ने गरेका छौं । आजका प्रमुख पाँच समाचारहरु मध्ये नेपालले सन् २०२२ को विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोट अन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा नेपालमै खेल्ने तय भएको हो । त्यस्तै २०२३ मा चीनमा हुने एसियन कप फुटबलका लागि छनोट खेल नेपालले आगामी मार्च २५ मा चाइनिज ताइपेइसित खेल्ने कार्यतालिका सार्वजनिक गरिएको छ ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले नेकपा भित्रको बहस विधि र पद्धतिका लागि मात्र भएको बताएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा शनिबार कांग्रेस नेतृ तथा पूर्वसांसद कौसर शाहलाई पार्टी प्रवेश गराउँदै दाहालले विधि र पद्धतिलाई स्थापित गर्न पार्टीभित्र हुने बहस स्वाभाविक भएको उल्लेख गरेका हुन् । यस्तै नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले समाजमा रहेका सबै विकृति, विसंगति, भेदभाव, अन्याय, अत्याचार र थिचोमिचोलाई समाप्त पार्न सक्ने खुबी नेकपामा मात्रै रहेको दावी गरेका छन् ।
अर्थमन्त्री पौडेलले कोभिडबाट प्रभावित अर्थतन्त्रलाई जोगाउन सरकारले ल्याएका राहतका प्याकेजबाट निजी क्षेत्रले अधिकतम लाभ लिनसक्नु पर्ने बताएका छन् । यस्तै गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउन कोभिडको मापदण्ड पालना गरेर व्यवसायीक गतिविधिलाई अगाडि बढाउनुको विकल्प नरहेको बताएका छन् ।
राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजनाको ४५ किलोमिटर नहर निर्माण भैसके पनि पूर्णरुपमा निर्माण सम्पन्न भइनसक्दै निर्माण भएका संरचना जिर्ण बनेका छन् । आयोजना लामो समयसम्म सम्पन्न हुन नसक्दा निर्माण भएका नहरका संरचना समेत जिर्ण बन्दै गएका छन् भने अयोजना सम्पन्न गर्न झनै चुनौति बढ्दै गएको छ ।
अमेरिकाले फाइजर र बायोएनटेकले संयुक्त रुपमा बनाएको कोरोना खोप प्रयोगका लागि अनुमति दिएको छ । बहराइन, क्यानडा, साउदी अरब जस्ता देशले खोपको आपतकालिन अनुमति दिएसँगै शुक्रबार अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले फाइजरको खोपको आपत्कालीन प्रयोगका लागि अनुमति दिएको हो ।





























प्रतिक्रिया