काठमाडौं ।
केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँच वटा समाचार प्रस्तुत गर्ने गरेका छौं । आजका प्रमुख पाँच समाचारहरु मध्ये भारतको आन्ध्र प्रदेशमा अर्को एक रहस्यमय रोगको महामारी फैलिएको छ । मानिसहरूमा बेहोस हुने र छारे रोग लागे जस्तो समस्या आउने यो रोगबाट आन्ध्र प्रदेशको एलुरु सहरमा ५ सय जनाभन्दा बढी प्रभावित भइसकेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
कोरोना भाइरसको महामारीका बेलामा सुदूरपश्चिम प्रदेशमा आत्महत्या र हत्या हिंसाका घटनाहरु बढेको तथ्यांकले देखाएको छ । गत वर्षको चैत महिनाबाट सुरुभएको लकडाउन यता कार्तिक मसान्तसम्म सुदूरपश्चिममा २ सय ७६ जनाले आत्महत्या गरेका छन् भने १ सय ६० बलात्कारका घटना भएका छन् ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको खोप ल्याउने कार्यको प्रगति विषयमा विभिन्न मन्त्री र सचिवसँग शुक्रबार छलफल गरेका छन् । यस्तै भिड नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको भत्ता सम्बन्धमा देखा परेका केही व्यावहारिक कठिनाई विषयक छलफल पनि भएको मन्त्रालयले जनाएको छ । सँगै कोभिड कोषको खर्च विवरण पनि जनतासमक्ष सार्वजनिक गरिने भएको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले गत कात्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् । बिहीबार बसेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को बैठकले कालिनको राजीनामा स्वीकृत गर्दै हाललाई बालगोपाल महर्जनलाई निमित्त प्रमुख प्रशिक्षकमा नियुक्त गरेको जानकारी गराएको छ ।
नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका भएका छन् । बुधबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशन अटेर गर्दै सरकारले बिहिबार पोखरेलको बढुवा गरेको थियो । तर, सरकारले अटेरिपन विरुद्ध बोल्दै समितिका सभापति शशि श्रेष्ठले समितिले दिएको निर्देशक सरकारले पालना गर्नैपर्ने बताएकी छिन् ।





























प्रतिक्रिया