काठमाडौँ
नेपाली काङ्ग्रेसले पार्टीको १४ औँ महाधिवेशन सम्पन्न गर्न राधेश्याम अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको सभापतित्वमा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी विधान अनुसार केन्द्रीय निर्वाचन समिति गठन गरेको हो । निर्वाचनको सदस्यमा गोपालकृष्ण घिमिरे, खम्मबहादुर खाती, सीताराम केसी र एकराज पोखरेल हुनुहुन्छ ।
बैठकले नियमावली मस्यौदा समिति गठनसमेत गरेको छ । विधान अनुसार पार्टीका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पार्टी नियमावली मस्यौदा समिति गठन गरिएको हो । समितिको सदस्यमा मीन विश्वकर्मा, जीवन परियार, ईश्वरी न्यौपाने र प्रदीप पौडेल रहनुभएको छ ।
बैठकले पार्टी केन्द्रीय अनुशासन समितिलाई समेत पूर्णता दिएको छ । पार्टीको विधान अनुसार सोमबार भीष्मराज आङ्देम्बेको संयोजकत्वमा गठित समितिलाई हिजोको वैठकले पूर्णता दिएको हो । समितिको सदस्यमा उमाकान्त चौधरी, धनराज गुरुङ, किशोरसिंह राठौर र देवेन्द्रराज कँडेल हुनुहुन्छ । बैठकले अघिल्लो अनुशासन समितिमा रहनुभएका संयोजक रमेश रिजाल लगायत सदस्यलाई धन्यवादसमेत व्यक्त गरेको छ ।
बैठकले विखण्डनको बाटो परित्याग गरी मुलुकको अखण्डता स्वीकार गरेर संविधान भित्रबाट समाधानमा पुग्न चाहने समूहलाई स्वागत गरिरहँदा समाधानको विधिबारे रहेका गम्भीर विरोधाभासलाई स्पष्ट गर्न सरकारसँग माग गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
सम्झौताको दुई साता पुग्दासम्म जनअभिमतमा आधारित लोकतान्त्रिक विधिको व्याख्या नगरिनु आपत्ति जनक भएको काङ्ग्रेसले जनाएको छ । यस्तै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीलाई हत्या, हिंसा र चन्दा आतङ्कको बाटो परित्याग गरी शान्तिपूर्ण राजनीतिमा आउन आह्वानसमेत गरेको छ ।
“निषेधको बाटोलाई होइन वार्ताको माध्यमबाट सो समूहलाई विश्वासमा लिन शासकीय योग्यता प्रस्तुत गर्न सरकारसँग काङ्ग्रेस आग्रह गर्दछ”, प्रवक्ता शर्माले भन्नुभयो । राष्ट्रिय संवेदनशीलताका विषयमा निर्णय लिनुअघि प्रमुख प्रतिपक्षलाई विश्वासमा लिने संसदीय लोकतन्त्रको परम्परा र संविधानको मर्म अनुरुपको अभ्यासलाई सरकारले त्याग गरेको भन्दै काङ्ग्रेसले आपत्ति जनाएको छ ।
काङ्ग्रेसले अत्यन्त हर्षोल्हासका साथ मनाइने होली पर्वले मुलुकलाई शान्ति, एकता, पारस्परिक विश्वास, उच्चतम सामाजिक–नैतिक मूल्य मान्यता र समृद्धिको बाटोमा लैजान प्रेरित गरोस् भन्ने शुभकामना समेत व्यक्त गरेको छ ।
काङ्ग्रेस कोषाध्यक्षहरूको सम्मेलन पोखरामा
यसैविच नेपाली काङ्ग्रेसका जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय कार्य समितिको तेस्रो राष्ट्रिय सम्मेलन यही चैतको अन्तिम साता पोखरामा हुने भएको छ ।
सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले पार्टीको आर्थिक स्रोतलाई सुदृढ, समृद्ध, पारदर्शी, जवाफदेही एवं पार्टीलाई नवजीवन दिन सम्मेलनले योगदान दिने बताउनुभयो ।
सम्मेलनले पार्टीको गुट उपगुट अन्त्य गरी एक भएर अघि बढ्न सुझाव दिने तथा सदस्यता वितरण तल्लो तहदेखि सिफारिसका आधारमा पारदर्शी र वैज्ञानिक तवरले वितरण गर्न सहयोग पु¥याउने उहाँले बताउनुभयो । कार्यसमितिका महासचिव लक्ष्मी पाण्डेले सम्मेलनले विदेश पलायन युवालाई स्वदेशमा नै रोजगार व्यवस्था गर्न पार्टीमार्फत सरकारलाई दबाब दिने बताउनुभयो । सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गर्नुहुने जनाइएको छ ।
रासस





























प्रतिक्रिया