धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपति शर्माको गीतमाथि लगाईएको प्रतिबन्ध बारे प्रतिक्रिया दिएका छन् । पशुपतिको गीत लुट्न सके लुट कान्छ बारे प्रधानमन्त्रीले धनगढी पुगेर प्रतिक्रिया दिएका हुन् ।
सुदूरपश्चिम प्रदेशको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त गीतमाथि सरकारले प्रतिबन्ध लगाउनुपर्ने कुनै कारण नरहेको प्रष्ट पारे । ओलीले भने– ‘एक केटोले लुट भन्ने गीत गाएछ, यसलाई सरकारले किन प्रतिबन्द लगाउने हामीले यसका बारेमा केही बोलेका छैनौं।’
उक्त गीतमा सरकारले कुनै आपत्ति नजनाएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘उसलाई लाग्यो रचना गर्यो, हामीले राम्रा काम गर्ने हो यसमा के आपत्ति।’
भ्रष्टाचार गरेको भेटाए म सहन्नः
प्रधानमन्त्री ओलीले भ्रष्टाचार गरेको भेटाएमा भने कसैलाई नछोडने आफ्ना भनाई दोहो¥याए । उनले भने( ‘कसैले पनि भ्रष्टाचार गर्छु, अनुचित रुपमा पैसा कमाउँछु भन्ने लागेको छ भने कल्पना नगर्नुहोस, यसलाई म सहन्न।’
वर्तमान सरकारको पाँच प्राथमिकताः
२००७ साल पछिको वर्तमान सरकार बहुमत सहितको स्थिर सरकार रहेको बताउँदै प्रधानमन्त्री ओलीले अहिलेको सरकार संख्यामा मात्रस्थिर नभइ नीति, लक्ष्य, दृष्टि लगायत सबै हिसाबले स्थिर रहेको उल्लेख गरे ।
प्रधानमन्त्रीले वर्तमान सरकारका पाँच प्राथमिकता राष्ट्रियता, लोकतन्त्र, सम्बृद्ध नेपाल, स्थायित्व र स्थिरता, र शुसासन र विकास रहेको बताए । यी पाँच प्राथमिकतालाई आत्मसात गरि अघि बढन प्रदेश सरकारलाई समेत आग्रह गरे।
अब कुनै किसिमको क्रान्ति आवश्यक छैन्ः
प्रधानमन्त्री ओलीले अब देशमा कुनै किसिमको पनि क्रान्तिको आवश्यकता नरहेको दाबी गरे । ‘केही केहीले विभिन्न आवरणमा क्रान्ति भन्दै अशान्ति मच्चाउने प्रयास गरिरहेका छन, सरकारलाई यो मान्य हुदैन नियन्त्रण गर्छ।’ उनले भने ।
प्रदेश सभा बैठकमा साढे २ घण्टा लामो भाषणः
एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले बुधबार प्रदेशसभा बैठकमा सम्बोधन गरेका हुन् । बुधबार विहान ९ बजे सम्बोधन शुरु गरेका ओलीले दिउँसो साढे ११ बजेसम्म सम्बोधन गरेका थिए ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले विकास निर्माणदेखि केन्द्र सरकारले प्रदेशमा छुट्याएको बजेटसम्मको नालिबेली प्रस्तुत गरे । उनले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको प्रकरणबारे पनि भन्न छुटाएनन् ।
ऋषिमुनिको देशमा बलात्कार हुनु दुर्भाग्यः
प्रधानमन्त्री ओलीले बलात्कारजन्य घटना हुनुमा दुःखद भएको भन्दै सरकारले कडा कारवाही गरिने बताए । उनले भने, ‘नेपाल ऋषिमुनिको देश हो, यस्तो देशमा बलात्कार हुनु दुर्भाग्य हो।’
निर्मला प्रकरणले नेपालको अपमान भएको भन्दै प्रधानमन्त्री ओलीले दोषीलाई पत्ता लगाएर कारवाही गरेरै छाड्ने प्रतिबद्धता जनाए । उनले भने, ‘यस घटनाले नेपालकै अपमान भएको छ, अत्यन्त दुःखद कुरा हो।’
यस घटनाका दोषीलाई हदै सम्मको कारवाही गर्न आवश्यक रहेको भन्दै प्रधानमन्त्रीले भने, ‘अनुमानका भरमा कसैलाई दोषी भन्न मिल्दैन, दोषी पत्ता लगाउने प्रयास जारी छ, पत्ता लगाएरै छोडछौं।’





























प्रतिक्रिया