काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल प्रज्ञा प्रतिष्ठान जस्तो बहस गर्ने ठाउँमा पनि विमर्शको संस्कृति कम हुन थालेको गुनासो गरेका छन् ।
आइतबार साहित्यमा नारीवादः नयाँ दृष्टिकोणको खोजी विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै कहिलेकाहीँ स्वार्थी पत्रहरूका कारण वास्तविक भावनाहरु छोपिने भन्दै विमर्शहरुले स्वार्थको पत्र उक्काएर मानवताको वास्तविकता के हो भन्ने कुराको खोजी गर्न आवश्यक रहेको बताए ।
उनले भने,‘कहिलेकाहीँ हामी स्वार्थका पत्रहरुले छोपिन्छौँ । वास्तविक भावनाहरु छोपिन्छन् । त्यसकारणले यस्ता विमर्शहरुले ती स्वार्थको पत्र उक्काउनुपर्छ र उक्काएर मानवताको वास्तविकता के हो भन्ने कुराको खोजी गर्नुपर्छ । यस्तो बहस कम भएको देख्छु । नेपाल प्रज्ञा प्रतिष्ठान जस्ता संस्थामा यस्ता बहस अगाडि बढाउनुपर्छ । हामीसँग विभिन्न अनुसन्धान केन्द्रहरु छन्, पुस्तकालयहरु छन् । यी ठाउँमा यस्ता विमर्श हुनुपर्छ तर यस्तो संस्कार घटेको देख्छु ।’
उनले राजनीतिमा महिला नेतृत्वको कुरामा केही फड्को मारेको भए तापनि त्यसलाई परिणाममुखी बनाउनका लागि समाजका अरु क्षेत्रहरु जागरित हुनुपर्ने धारणा राखे । मन्त्री पाण्डेले साहित्यमा नारीवाद भनेको समाज कै निम्ति खोजिएको र विभिन्न समूह, वर्गभित्रको एउटा न्याय खोजेका बताए । नारीवादको सन्दर्भमा नयाँ दृष्टिकोण बनाउन जरुरी रहेको उनको भनाइ छ ।





























प्रतिक्रिया