काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अमेरिका विरुद्ध सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालको सार्वजनिक अभिव्यक्ति गलत भएको निष्कर्ष निकालेको छ ।
नेपाली कांग्रेस संसदीय दलको आईतबार सिंहदरबारमा बसेको बैठकले अध्यक्ष दाहालले राष्ट्रिय स्वार्थ र जनताको हितमा अनुदान सहायता उपलब्ध गराउँदै आएको पूरानो मित्र राष्ट्र अमेरिकाको खिलापमा सार्वजनिक अभिव्यक्ति दिनु गलत भएको निष्कर्ष निकालेको हो ।
अध्यक्ष दाहालले भेनेजुयलाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै अमेरिकाको विरोध गर्दै विज्ञप्ती जारी गरेका थिए । त्यसप्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आपत्ति छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले अमेरिका जस्तो मुलुकको राष्ट्रिय स्वार्थ र जनताको हितका लागि अनुदान सहायता दिँदै आएको मुलुकको विरोध सत्तारुढ दलकै अध्यक्षबाट हुनु दूर्भाग्यपूर्ण भएको निष्कर्ष निकाल्दै आईन्दा त्यसो नगर्न पनि सत्तारुढ दल नेकपा र सरकारलाई पार्टी संसदीय दलको बैठकले सचेत गराएको जानकारी दिए ।
बैठकले डा. गोविन्द केसीको मागलाई सम्बोधन गर्न सरकारलाई दवाव दिन सडक आन्दोलनलाई निरन्तरता दिने निर्णय पनि गरेको छ । सदनमा पनि सो सम्बन्धमा कुरा उठाउने तथा जनता र पार्टीका कार्यकर्तामार्फत् सो माग सम्बोधनका लागि सरकारलाई दवाव दिन सडक आन्दोलनलाई पनि जारी राख्ने निर्णय गरिएको पार्टीका प्रवक्ता खाँडले बताए ।
कांग्रेसले सोमबार (भोली) सरकारविरुद्ध देशभर आन्दोलन गर्दैछ । सो आन्दोलनमार्फत् जनताको सरोकारका विषयलाई सम्बोधन गर्न सरकारलाई दवाव दिने निर्णय पनि गरिएको प्रमुख सचेतक खाँडले बताए ।
नेपाली कांग्रेसले सरकारले आफ्नो गल्ती सच्याउँदै गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल केन्द्र सरकारकै मातहत ल्याउने निर्णय गर्न बाध्य भएको स्पष्ट पारे ।





























प्रतिक्रिया