जनयुद्धको प्रेरणा सयौं वर्षसम्म रहने छ : अध्यक्ष प्रचण्ड

जनयुद्धको प्रेरणा सयौं वर्षसम्म रहने छ : अध्यक्ष प्रचण्ड

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धको प्रेरणा सयौं वर्षसम्म रहने बताएका छन् ।

३० औं जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डल भने, ‘जनयुद्ध नेपालको इतिहासमा सबैभन्दा ठुलो क्रान्तिकारी परिवर्तन गराउने परिघटना थियो । यसले आज मात्र होइन । सयौं वर्षसम्म पनि प्रेरणा दिइरहने छ । यसलाई कसैले मेटाउन संभव छैन। जसले मेटाउने प्रयास गर्छ, उ खरानी हुनेछ ।’

उनले जनयुद्ध दिवस राष्ट्रिय दिवस नै भएकाले अहिले शान्ति प्रक्रिया नटुंग्याएको कारण देखाएर अदालतले स्थगन गरे पनि यो राष्ट्रिय दिवस भएको र यसलाई राष्ट्रिय दिवसको रुपमा स्थापित गरेरै छाड्ने दृढता व्यक्त गरेका छन् । उनले थपे ‘हामी अहिले संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा छौं । यसको मुख्य प्रेरणा जनयुद्ध नै हो । हामी जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा र विकास गरेर संघीय लोकतान्त्रिक गणतन्त्र हुँदै समाजवादको आधार तयार गर्ने यात्रामा छौँ ।’

जनयुद्ध र जनआन्दोलनको बलमा बनेको संविधानमा स्थापित मान्यतालाई एकथरी तत्वले अस्वीकार गर्ने र जनताका अधिकार कुण्ठित गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै प्रचण्डले यी सबै प्रयास असफल पार्न आफूहरुले निरन्तर अग्रगमनका लागि संघर्ष गरिरहेको उनले बताएका छन् ।

उनले भने, ‘अहिले पनि दुई वर्ग र प्रवृत्तिका बीचमा संघर्ष चलिरहेको छ । हामीले धेरै वर्ष पहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा पुगे पनि प्रतिक्रियावादीहरुले जनताको गणतन्त्र हुन नदिने प्रयास हुनेछ भनेर आँकलन गरेका थियौं । आज त्यही स्थिति बनेको छ । एकथरि तत्व संविधानका अग्रगामी प्रावधान उल्ट्याउने प्रयासमा लागिरहेका छन तर हामी यसलाई समाजवादी गणतन्त्रमा लैजान चाहन्छौं । यो संघर्ष चलिरहेको छ ।’

विगतमा भएका कतिपय कमजोरीको आत्मसमीक्षा गर्दै पार्टी हामी फेरि पनि यो देशका आम श्रमजीवी वर्ग, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुश्लिम लगायत उत्पीडित समुदाय र क्षेत्रको एजेण्डामा फर्केको उल्लेख गर्दै उनले पछिल्लो समय सरकारको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा गरिएको ऐतिहासिक थालनीलाई जनताले सकारात्मक रुपमा ग्रहण गरिरहेको दावी गरे ।

अध्यक्ष प्रचण्डले आफ्नो वर्ग र समुदायतर्फ फर्कदै जनताका एजेण्डालाई दृढतापूर्वक अघि बढाउने र जनतासँगको एकतालाई बलियो बनाउने सङ्कल्प गरेका छन् । जनयुद्धको तयारी, सञ्चालन, शान्ति प्रक्रिया, संविधान निर्माण र गणतन्त्र घोषणाको ऐतिहासिक नेतृत्व गर्ने अवसर पाउनु आफ्ना लागि गर्वको विषय भएको बताउँदै प्रचण्डले क्रान्तिकारी शक्तिलाई अझ बलियो बनाउन जनयुद्धका सहयात्री लगायत सबै कम्युनिष्ट क्रान्तिकारीहरुलाई एकताको अपिल गरेका छन् । क्रान्तिकारी शक्तिलाई बलियो बनाएर मात्रै प्रक्रियावादीका षड्यन्त्र बिफल बनाउने र जनताले देखेको क्रान्तिको सपना पूरा गर्न सकिने भएकाले क्रान्तिकारी शक्तिहरुलाई एकता हुनका लागि समेत उनले आह्वान गरे ।

उनले भने, ‘राजनीति घोषणाको तहमा युगान्तकारी उपलब्धि प्राप्त गरे पनि जनताले प्रत्यक्ष देख्ने र भोग्ने गरी जनताको जीवन बदल्न नसकिएको अब तलैदेखि समाजवादी क्रान्तिको जग कसरी बसाउन सकिन्छ भनेर नयाँ सङ्कल्प गर्ने बेला आएको छ । जनताको घर आँगनमा उज्यालो ल्याउने सङ्कल्प आजको मुख्य कार्यभार बनेको छ। भर्खरै सम्पन्न केन्द्रीय सम्पन्न बैठकले त्यस दिशातिर पार्टीलाई अघि बढाएको छ । म सबैलाई यो अभियानमा लाग्न अपिल पनि गर्दछु ।’

माओवादीले हरेक बर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउँदै आएको छ ।

Logo