काठमाडौं । सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम र बजेटका प्राविधिक सीमालाई ध्यान दिँदै शिक्षा विधेयकलाई यही अधिवेशनमा पारित गर्न तयारी अवस्थामा रहनुपर्ने बताएका छन् ।
सिंहदरबारमा आज प्रमुख दलका प्रमुख सचेतकहरूसँगको छलफलमा सभामुख घिमिरेले संसदलाई सरकारको नीति तथा कार्यक्रम, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्था बमोजिम पूर्वबजेट छलफल तथा बजेटको चाप परेको बताएका हुन् ।
विद्यालय शिक्षा विधेयकलाई पनि प्राथमिकताका साथ पारित गर्नुपर्ने दायित्व संसदको रहेको उनको भनाइ छ ।
‘शिक्षकहरूले ऐन नलिई जान्न भन्नुभएको छ । उहाँले मलाई समेत भेटेर पहल गरिदिन भन्नुभएको छ । उपसमितिले वैशाख २३ सम्मको समयावधिभित्रै प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाएको अवस्थामा यसलाई प्राथमिकता दिने गरी संसदले तयारी गरेको छ ।’ उनले भने, ‘जुनसुकै दिन विधेयक संसदमा प्रस्तुत गर्ने गरी क्यालेन्डरमा सुरक्षित गर्नेछौं । समितिको प्रतिवेदन आएलगत्तै संसदले पारित गर्ने प्रक्रिया सुरु गर्छ । निजामति विधेयक पनि समितिबाट आउने अवस्थामा छ ।’
बैठकमा सभामुख घिमिरेले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद सञ्चालन गर्ने प्रस्ताव गरेका थिए । बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको छ । सोहीबमोजिमको क्यालेन्डरबारे वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस हुनेछ ।





























प्रतिक्रिया