मानवजाति र धर्तीको समस्या समाधान गर्न ‘सगरमाथा संवाद’ -प्रधानमन्त्री

मानवजाति र धर्तीको समस्या समाधान गर्न ‘सगरमाथा संवाद’ -प्रधानमन्त्री

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवजाति र धर्तीको भविष्यसँग जोडिएका साझा समस्याको समाधान खोज्न ‘सगरमाथा संवाद’ आयोजना गर्ने तयारीमा सरकार रहेको बताएका छन् ।

आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना हुने सगरमाथा संवादका सन्दर्भमा आज भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, “पृथ्वीको भविष्य सुनिश्चित होस् मानवजातिको भविष्य सुनिश्चित होस् यसका निम्ति हामी यही मे १६ देखि १८ सम्म काठमाडौँमा सगरमाथा संवाद आयोजना गर्दछौँ ।”

उनले जलवायु परिवर्तनका कारण उत्पन्न विषम परिस्थिति तथा हाम्रो वरपरको वातावरण निरन्तर प्रदूषित भइरहेकामा चिन्ता व्यक्त गर्दै मुलुकको बिग्रँदो वातावरण थप बिग्रन नपाओस् तथा यसको संरक्षणमा सबै सचेत रहनुपर्ने सन्देश प्रवाह गर्न संवाद आयोजना हुन लागेको उल्लेख गरेका छन् ।

“हाम्रा क्रियाकलापले पृथ्वीको वातावरण बिग्रँन नपाओस् । अब हाम्रा क्रियाकलापबाट बिग्रिएको वातावरण सपार्न सकौँ । र, भोलिका लागि हाम्रा भावी सन्ततिले सुरक्षित र सुन्दर वातावरणमा बस्न पाउन्”, प्रधानमन्त्रीले सन्देशमा भनेका छन् ।

उनले सगरमाथा संवादले पहाड र समुद्रबीचको सम्बन्ध पहाडको वातावरणीय प्रश्नमा योगदान, नदीनाला बन्ने कुरादेखि लिएर कुलिङ सबै कुराका लागि धेरै महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै त्यसलाई अहिले उचित ढङ्गले बुझ्न नसक्ने र बुझेर पनि त्यसप्रति ध्यान नदिनु मानव जातिका लागि प्रतिकूल हुने बताए । वातावरण संरक्षण विश्वको साझा समस्या भएकाले यसको समाधान गर्न विश्ववासीको साझा प्रयास आवश्यक भएकामा उनको जोड छ ।

“कार्बन इमिसनदेखि लिएर वातावरण बिगार्ने अन्य तत्वको नियन्त्रण र वातावरणलाई सपार्ने प्रयासहरु अगाडि बढाउने काम गर्न जरुरी छ । त्यसका निम्ति विश्वका मानिस एक ठाउँ बसेर छलफल गरौँ, एक ठाउँ बसेर समस्या पहिचान र एकठाउँबाट तिनको समाधान निकाल्ने प्रयास गरौँ”, प्रधानमन्त्रीले सन्देशमा भनेका छन् ।

Logo