सकारात्मक र सक्षम युवा समाज रूपान्तरणका नायक बन्न सक्छन् -उपप्रधानमन्त्री सिंह

सकारात्मक र सक्षम युवा समाज रूपान्तरणका नायक बन्न सक्छन् -उपप्रधानमन्त्री सिंह

केन्द्रबिन्दु
12
Shares

पाटन (ललितपुर) । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सकारात्मक र सक्षम युवा नै समाज रूपान्तरणका नायक बन्न सक्ने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रिय युवा परिषद्ले आज ललितपुरमा आयोजना गरेको नमूना संयुक्त राष्ट्रसङ्घीय अभ्यास २०२५ को उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री सिंहले सिर्जना र साहसको स्रोत मानिने युवा वर्ग राज्यको आवश्यकता पहिचान गरी योगदान पुर्‍याउन तत्पर रहने विश्वास व्यक्त गरेका हुन् ।

“वर्तमान अवस्थामा हिमालको काखमा अवस्थित हाम्रो सुन्दर भूमि आन्तरिक र बाह्य बसाइँसराइको अस्वभाविक प्रवृत्तिले रित्तिँदो अवस्थामा रहेको छ, इतिहासमा आज सबैभन्दा धेरै नेपाली भूमिले युवाको साथ खोजिरहेको छ, सुन्दर र शान्त यो भूमिले खोजेको साथलाई यहाँहरूले पक्कै छाडेर हिँड्नु हुने छैन भन्ने विश्वास रहेको छ”, उपप्रधानमन्त्री सिंहले भने ।

उनले युवाको सर्वाङ्गीण विकासको लागि अनुकूल वातावरण निर्माण गरी नीति निर्माणदेखि कार्यान्वयन तहसम्म संलग्न गराउने उद्देश्यले विसं २०७२ मा राष्ट्रिय युवा परिषद्को स्थापना भएको स्मरण गर्दै नेपाल सरकारको तर्फबाट गर्नुपर्ने र गर्न सकिने कामहरूका लागि हामी तपाई युवाहरूबाट अपेक्षा र सुझाव चाहन्छौँ भने ।

उपप्रधानमन्त्री सिंहले विश्वमा बढ्दै गएका पर्यावरणीय तथा वातावरणीय समस्या, राजनीतिक ध्रुवीकरण, अन्तरराष्ट्रिय सम्बन्ध, आणविक हातहतियारको प्रयोगलगायतका सवालमा युवा वर्गलाई सचेत गराउनुका साथै समस्या समाधानका लागि युवाबीच छलफल, अन्तर्क्रिया र सामूहिक उत्तरदायित्वको साझा धारणा निर्माण हुने बताए । पछिल्लो जनगणनाअनुसार नेपालमा हाल १६ देखि ४० वर्ष उमेर समूहको जनसङ्ख्या ४२ दशमलव ५६ प्रतिशत रहेको स्मरण गर्दै उनले यो हाम्रो लागि जनसाङ्ख्यिक लाभको समय पनि हो भने ।

Logo