काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा पनि गृहमन्त्रीको राजीनामा माग गरिएको छ ।
आकस्मिक समयमा बोल्नुहुने सांसद गोपीबहादुर सार्की अछामीले भिजिट भिषा प्रकरणबारे निष्पक्ष छानबिनको माग गरेका हुन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुखसहित केही कर्मचारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गिरफ्तार गरेको र यस प्रकरणमा गृहमन्त्रीको पनि संलग्नताबारे विषयहरू आइरहँदा राजीनामा गरेर अनुसन्धानमा सघाउनुपर्ने उनको भनाइ छ ।
पछिल्ला विकसित घटनाक्रमको विश्वव्यापी रूपमा नकारात्मक सन्देश गइरहेको पनि उनले बताए । दुई तिहाइको सरकार जनताप्रति जिम्मेवार र जवाफदेही हुन नसकेको आरोप पनि सांसद अछामीले लगाए ।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यस विषयमा सभाको ध्यानाकर्षण भएको बताए । गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले लगातार दोस्रो दिन पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन् । राष्ट्रियसभाको बैठक भने सञ्चालन भएको छ ।





























प्रतिक्रिया