काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल कुमार शर्माले पत्रकार दिलभूषण पाठकमाथि जारी भएको पक्राउ पुर्जीको कडा निन्दा गरेका छन् । याे प्रेस स्वतन्त्रतामाथिको गम्भीर हमला भएको उनकाे भनाइ छ ।
सांसद डा. शर्माले आज सामाजिक सञ्जालमार्फत सत्तासँग प्रश्न गर्ने, खोजमूलक पत्रकारिताका माध्यमबाट विविध सन्दर्भमा विषयवस्तु उजागर गर्ने र सत्य जनतासामु ल्याउने प्रयास पत्रकारिताको मूल मर्म रहेको र यो कुनै अपराध नभएको दाबी गरेका हुन् ।
उनले पत्रकारिताका माध्यमबाट प्रकाशित/प्रसारित सामग्रीप्रति कुनै प्रतिवाद, असहमति वा असन्तुष्टि भए त्यसको विधिसम्मत सुनुवाइ र निरूपण प्रेस काउन्सिलमार्फत हुनुपर्ने स्पष्ट कानुनी व्यवस्था रहेको स्मरण गराए । तर, उक्त कानुनी प्रक्रियालाई बेवास्ता गर्दै सिधै अपराध ठहर गरी पत्रकार पाठकमाथि पक्राउ पुर्जी जारी गरिनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ।
“यो केवल एउटा व्यक्तिको मुद्दा मात्र होइन,” डा. शर्माले भनेका छन्, “यो अभिव्यक्ति स्वतन्त्रता, प्रेसको अधिकार र लोकतान्त्रिक मूल्यहरूमाथिको ठाडो हस्तक्षेप हो।”
उनले पत्रकार दिलभूषण पाठकमाथि जारी भएको पक्राउ पुर्जी तत्काल फिर्ता गर्न सरकारसँग जोडदार माग पनि गरेका छन्।
पाठकविरुद्ध प्रहरीको साइबर ब्युरोले जिल्ला अदालत, काठमाडौंबाट विद्युतीय कारोबार ऐन अन्तर्गत (साइबर) को कसुरमा पक्राउ पुर्जी लिएको थियो। पाठकले आफ्नो युट्युब च्यानल ‘टफ टक विथ दिलभूषण पाठक’ मार्फत हिल्टन होटेलको शेयर खरिदबिक्रीसँग सम्बन्धित एक रिपोर्ट प्रसारण गरेपछि उजुरी परेको थियाे ।
डा. शर्मा प्रतिनिधिसभाका तलब–भत्ता नलिने एक मात्र सांसद हुन्। उनी सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्। यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य निरन्तर भइरहेको छ।





























प्रतिक्रिया