धरौटीमा छुटेपछि रवीन्द्र मिश्रले भने- ‘न्याय प्रणालीमाथि दृढ विश्वास जागेको छ’

धरौटीमा छुटेपछि रवीन्द्र मिश्रले भने- ‘न्याय प्रणालीमाथि दृढ विश्वास जागेको छ’

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपालको न्याय प्रणालीमाथि दृढ विश्वास जागेको बताएका छन् ।

मंगलबार तीन लाख रुपैयाँ धरौटीमा छुटे पश्चात उनले धरौटीमा छोड्ने अदालतको फैसलाले नेपालको न्याय प्रणालीमाथि दृढ विश्वास जागेको बताएका हुन् । उनले भने, ‘अदालतले न्याय दिएकोमा राज्यले अन्याय गर्दा पनि अहिलेको अवस्थामा अदालत न्याय दिन सक्षम रहेछ र अदालतले आफ्नो विवेक प्रयोग गर्ने ठाउँमा विवेक प्रयोग गर्ने रहेछ भन्ने कुराले नेपालको न्याय प्रणालीमाथि दृढ विश्वास यसले जगाइदिएको छ ।’

यस्तै, उनले राज्यले जसरी आरोप लगाएको थियो त्यो दुखद् भएपनि अदालतले न्याय दिएकोमा खुशी रहेको बताए ।

उनले भने, ‘राज्यले जुन किसिमको आरोप हामीमाथि लगायो र हामीलाई दोषी करार गर्नको लागि जसरी राज्य पक्षबाट विभिन्न किसिमका आरोप लगाइयो त्यो दुखद थियो तर अदालतले न्याय दिएकोमा म खुशी छु ।’

काठमाडौंको तीनकुनेमा चैत १५ गते राजावादीले गरेको आन्दोलन हिंसात्मक भएपछि मिश्र पक्राउ परेका थिए । मिश्रमाथि राज्यविरुद्धको कसूर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसूरमा मुद्दा दर्ता भएको थियो । मिश्रसँगै पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणा भने हिजो बेलुका तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा भइसकेका छन् ।

Logo