कारागारबाट रवि लामिछानेको गुनासाे- म यस्तो यातनामा छु जुन हेर्नेले देख्दैन, भोग्नेले सहन सक्दैन

कारागारबाट रवि लामिछानेको गुनासाे- म यस्तो यातनामा छु जुन हेर्नेले देख्दैन, भोग्नेले सहन सक्दैन

'म लड्न तयार छु, तर प्राण नै नरहे कसरी लडुँला ?'

केन्द्रबिन्दु
27
Shares

काठमाडाैं । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भैरहवास्थित कारागारमा आफूलाई भएको कठिनाइ र मानसिक वेदनाबारे सार्वजनिक गरेका छन्।

रूपन्देही अदालतलाई बुझाएकाे निवेदनमा उनले कारागारभित्रको अवस्थालाई चित्रण गर्दै आफूलाई भइरहेको यातनालाई ‘हेर्नेले नदेख्ने र भोग्नेले सहन नसक्ने’ भनी व्यक्त गरेका छन्।

उनले कारागारको आफ्नो कोठामा रहेको एउटा पंखालाई ‘भगवानको साक्षात् रूप’ भनी उल्लेख गरेका छन्। उनले भनेका छन्, “बत्ती जाँदा यस कोठामा बत्ती मात्र जाँदैन, लगभग मेरो प्राण गएजस्तो हुन्छ।” उनले आफ्नो अवस्थाबारे अरू कैदीबन्दीसँग तुलना गर्नेहरूलाई जवाफ दिँदै आफूका लागि यही कोठा नै सिङ्गो जेल भएको बताएका छन्।

‘ म बसेको यो अवस्थाबारे थाहा नपाउने हर कोहीले भन्न सक्छ, अरू कैदीबन्दीलाई गर्मी नहुने तँलाई मात्र हुने? म दोहोऱ्याउन चाहन्छु, अरू कैदीबन्दीहरू सुत्ने बेलामा मात्र कोठामा गए पुग्छ। मेरा लागि यही कोठा नै सिङ्गो जेल हो। म यस्तो यातनामा छ जुन हेर्नेले देख्दैन, भोग्नेले सहन सक्दैन। तैपनि म लड्न तयार छु। तर प्राण नै नरहे म कसरी लडुँला ?’ उनले भनेका छन् ।

मानव अधिकार संस्थाप्रति अविश्वास, न्यायालयमा विश्वास कायम आफ्नो अवस्थाबारे मानव अधिकारवादी संस्थालाई गुहार नगर्ने उनले स्पष्ट पारेका छन्। “यो देशका धेरै संस्थाहरू जस्तै मानव अधिकारवादी संस्था समेतले आफ्नो सान्दर्भिकता र नागरिक विश्वाससमेत गुमाउँदै गइरहेका छन्,” उनले भनेका छन्।

यद्यपि, उनले न्यायालयप्रति आफ्नो विश्वास अझै दृढ रहेको बताएका छन्। उनले यही विश्वासका आधारमा आफ्नो जीवन र अधिकारको रक्षाका लागि र आफूमाथि भएको षड्यन्त्रविरुद्ध लडिरहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

‘म राज्यको षड्यन्त्रसँग आँखामा आँखा जुधाएर लड्न चाहन्छु, लुक्न चाहन्न। राज्य मप्रति कति प्रतिशोधी छ भन्ने बुझ्न ममाथि लगाइएका झुटा मुद्दाहरू नै सबैभन्दा ठूला प्रमाण हुन्। ‘उनले भनेका छन्, ‘मलाई राजनीतिक रुपमा सिध्याउन रचिएका षड्यन्त्रहरूविरुद्ध त म राजनीतिक रुपमै लडौँला। तर मध्यरातमा चितवनबाट पोखरा लैजाँदादेखि अहिले भैरहवा कारागारमा मलाई राखिएको कोठासम्मका घटनाक्रमले म यो निष्कर्षमा पुगेको छु कि राज्य मलाई केवल राजनीतिक रुपमा मात्र होइन, शारीरिक रुपमा पनि गलाउने, सडाउने र सिध्याउने प्रयत्नमा छ।’

Logo