उपसभामुखमाथि महाभियोग लगाउने कसरतमा कांग्रेस-एमाले

उपसभामुखमाथि महाभियोग लगाउने कसरतमा कांग्रेस-एमाले

बोलाइयो छुट्टाछुट्टै आकस्मिक बैठक

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । सत्तारूढ दलहरू नेकपा एमाले र नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरेका छन् । उपसभामुखलाई आचरणसम्बन्धी प्रश्न उठाएर पदबाट हटाउने तयारीमा रहेका कांग्रेस र एमालेले आआफ्नो पार्टीभित्र छलफल थालेका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अहिले पदाधिकारी बैठक जारी छ । कांग्रेसले आफ्ना सांसदहरूलाई मंगलबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सिंहदरबारस्थित संसदीय दलमा उपस्थित हुन भनिसकेको छ।

यता प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्ना सांसदहरूसँग आजै छलफल गर्दैछन्। एमालेले आजै संसदीय दलको बैठक आकस्मिक रूपमा बोलाएको हो ।

उपसभामुख ईन्दिरा राना मगरले अमेरिकी दूतावासमा पत्र लेखेर भिसा अन्तर्वार्ताका लागि समय सारिदिन आग्रह गरेको पत्र सार्वजनिक भएपछि केही समयअघि उनी विवादमा तानिएकी थिइन्। त्यसबेला कांग्रेस र एमालेका कतिपय सांसदहरूले प्रतिनिधि सभामा बोल्दै उपसभामुखलाई नैतिकताका आधारमा पदबाट राजीनामा दिन भनेका थिए। तर यो विषय विस्तारै सेलाएको थियो । अहिले फेरि प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवा उपसभामुखलाई मुडमा निस्किएका हुन् ।

उपसभामुख रानामगर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सांसद भएकी हुन्। वैधानिक परिषदमा बहुमतमा नभएका कारण उपसभामुखलाई हटाउन खोजिएको पनि भनिएको छ ।

संवैधानिक परिषदमा बहुमतले निर्णय गरिन्छ । अहिले प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ । जसमा सदस्यहहरूमध्ये प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल र उपसभामुख इन्दिरा राना सरकारको विपक्षमा छन् ।

त्यसो हुँदा निर्वाचन आयोगका प्रमुख आयुक्तलगायत संवैधानिक नियुक्ति हुन सकेको छैन। साथै कांग्रेसले उपसभामुख पदमा दाबी गर्दै आएको छ। यसैबीच उपसभामुखमाथि महाभियोगकाे दण्डा चलाउन लागिएकाे हाे ।

Logo