काठमाडौं । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा निर्विरोध निर्वाचित ईश्वरीदेवी न्यौपानेले पदभार ग्रहण गरेकी छन् ।
बुधबार सभामुखबाट पद तथा गोपनियताको शपथ लिएकी न्यौपानेले पदभार ग्रहण गरेकी हुन् । त्यसअघि आजै समितिका ज्येष्ठ सदस्य सर्वेन्द्र नाथ शुक्लाको अध्यक्षतामा बसेको बैठकले उनलाई निर्विरोध चयन भएको घोषणा गरेको थियो ।

समितिका यसअघिका सभापति पदमा कांग्रेसका रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त सभापति पदमा न्यौपानेको मात्र उम्मेदवारी परेको थियो । बैठकमा समिति सदस्य खतिवडाले न्यौपानेलाई सभापति निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई नेकपा (एमाले)का सांसद कृष्णगोपाल श्रेष्ठले समर्थन जनाएका थिए ।
नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गरेकी न्यौपाने हाल कांग्रेसको केन्द्रीय सदस्य हुन् । यसअघि उनी तत्कालीन संविधानसभामा सदस्य थिइन् भने पार्टीका तर्फबाट संसदीय दलको सचेतकको भूमिका समेत निर्वाह गरिसकेकी छन् । कांग्रेस महिला विभाग प्रमुख भई जिम्मेवारी सम्हालेको अनुभव पनि उनीसँग छ ।





























प्रतिक्रिया