कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सम्पन्न गर्न मुख्यमन्त्री कँडेलको निर्देशन

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सम्पन्न गर्न मुख्यमन्त्री कँडेलको निर्देशन

केन्द्रबिन्दु
12
Shares

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइनको बाँकी काम चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन् ।

प्रसारणलाइनअन्तर्गत सुर्खेतदेखि बाँकेको कोहलपुरसम्म बनेका विभिन्न संरचनाको निरीक्षण गर्दै आज मुख्यमन्त्री कँडेलले जनस्तरमा देखिएका समस्या समाधान भइसकेकाले अब निर्माणमा ढिलाइ गर्न नहुने बताएका हुन् । उनले आउँदो तिहारसम्म प्रसारणलाइनअन्तर्गत ‘फिल्ड’को काम सकेर सबस्टेसनमा विद्युत् जोड्ने गरी काम सम्पन्न गर्न आयोजना कार्यालयलाई निर्देशन दिए ।

उनले सुर्खेत र कोहलपुरस्थित १३२ केभी प्रसारणलाइनको सबस्टेसन, गाभर निर्माणाधीन टावर अवलोकन गर्नाका साथै बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज तथा प्रसारणलाइनका कर्मचारीसँग बाँकी कामबारे छलफल गरे ।

चिसापानी गाभरमा सरोकार भएकासँगको छलफलमा सङ्घीय वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी पनि सहभागी थिए । मुख्यमन्त्री कँडेलले संस्थागत क्षमता बढाएर कामलाई छिटो छरितो सम्पन्न गर्नतर्फ ध्यान दिन आग्रह गरे । उनले निकुञ्जका कर्मचारीलाई कर्णालीवासीको दिनचर्यासँग जोडिएको राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा देखिएको अवरोधलाई स्थानीयस्तरबाटै समाधान गर्न पहलकदमी लिन जोड दिए ।

Logo