काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली समाज र विशेषगरी युवा पुस्ताको भावनालाई सम्बोधन गर्न पार्टीमा व्यापक रूपान्तरणको खाँचो रहेको बताएका छन्।
उनले हालै ‘जेनजी’ आन्दोलनका कारण दुई ठूला राष्ट्रिय दल सत्ताबाट बाहिरिनुपरेको घटनालाई समयको पदचाप बुझ्न नसक्दाको परिणामका रूपमा व्याख्या गरेका छन्।
शनिबार जारी गरिएको एक सन्देशमा डा. कोइरालाले भनेका छन्, “नेपाली समाज र यहाँका ऊर्जावान युवाहरू एकातिर छन्, कांग्रेसको सोच र दृष्टिकोण अर्कोतिर बग्यो, केही रणनीतिक भूलहरू भए, हामी चुक्यौं।” उनले युवाहरूको भावनालाई राष्ट्रिय भावधारामा समाहित गर्दै एउटा शक्तिशाली राष्ट्र निर्माणमा समर्पित हुने प्रण गरेका छन्।
नेता डा. कोइरालाले भदौ २३ र २४ गतेको घटनापछि ‘जेनजी’ आन्दोलनबाट उत्पन्न नयाँ सरकारले जनताको विश्वास जित्नेमा आफू आशावादी रहेको बताए । यद्यपि, उनले भदौ २४ गतेको आन्दोलनका क्रममा भएको सार्वजनिक सम्पत्तिको लुटपाट, आगजनी र कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा भएको आक्रमणको कडा निन्दा गरेका छन्। देउवा र उनकी पत्नीमाथि भएको हातपातलाई उनले ‘जघन्य अपराध’ को संज्ञा दिएका छन्।
पार्टीभित्रको वर्तमान परिस्थितिबारे बोल्दै डा. कोइरालाले अब विगतको समीक्षामा समय खेर फाल्नुभन्दा नयाँ परिस्थितिमा कसरी अगाडि बढ्ने भन्नेमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्। उनले बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाजस्ता अग्रजहरूको लोकतान्त्रिक आन्दोलनको पदचिह्नलाई पछ्याउँदै भावी कांग्रेसको दिशा निर्धारण गर्नुपर्नेमा जोड दिए।
डा. कोइरालाले नेपाली कांग्रेसले लोकतान्त्रिक समाजवादको दियोलाई निभाउन नदिएर देशव्यापी रूपमा बचाएको स्मरण गर्दै अब फेरि एकपटक ती योद्धा र शहीदहरूलाई सम्झेर आफ्नो भूमिका तय गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनले भनेका छन्, “हामीसँग आँसु बगाएर र पश्चाताप गरेर खेर फाल्ने समय छैन।” उनले विगतमा जनताको अपेक्षा पूरा गर्न नसकेकोमा प्रायश्चित गर्न तयार रहेको पनि बताए।
कांग्रेसलाई जनताको चाहना अनुसार परिवर्तनको माध्यम बनाउनुपर्नेमा जोड दिँदै उनले भनेका छन्, “कांग्रेस भित्र नेतृत्व, संगठन र विचारमा नयाँपन ल्याउने जिम्मेवारी तपाईँ हामी सबैको हो।” यसका लागि दशैँलगत्तै देशव्यापी रूपमा बहस, छलफल र विवेकपूर्ण कदमहरू अगाडि बढाउनेबारे छलफल गर्न आफू कार्यकर्तामाझ आउने जानकारी पनि उनले दिएका छन्।





























प्रतिक्रिया