प्रहरीले थप उच्च मनोबलका साथ काम गर्नुपर्छः गृहमन्त्री अर्याल

प्रहरीले थप उच्च मनोबलका साथ काम गर्नुपर्छः गृहमन्त्री अर्याल

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । गृहमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले कानुनबमोजिम कर्तव्य पालनामा अब प्रहरीले उच्च मनोबल थप बनाउँदै कार्यक्षेत्रमा खटिनेपर्ने बताएका छन् ।

आज नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री अर्यालले नेपाल प्रहरीको अनुपस्थिति वा कमजोर उपस्थितिले आमजनताको दैनिकीमा नकारात्मक प्रभाव पर्नुका साथै समाजमा अराजकता मौलाउने भन्दै चनाखो हुन प्रहरीलाई निर्देशन दिए । उनले प्रहरी प्रशासनमा भएका कमीकमजोरीलाई सुधार गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

गृहमन्त्री अर्याललाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्ग, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरूलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए ।

गृहमन्त्री अर्यालले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानलाई निर्देशन दिँदै नेपाल प्रहरीले स्थापना कालदेखि देशमा भएका विभिन्न द्वन्द्व, उतार चढाव, राजनीतिक परिवर्तन र सङ्क्रमणकालमा अविचलित रहँदै देश र जनतालाई केन्द्रबिन्दुमा राखेर आफ्नो कर्तव्य प्रभावकारी रूपमा निर्वाह गर्दै आइरहेको उल्लेख गरे ।

गृहमन्त्री अर्यालले विगत १० दिनदेखि नेपाली समाजको नवीनतम र चेतनशील पुस्ता जेनजीले गरेको ऐतिहासिक प्रदर्शनलाई नेपाल प्रहरीले सम्मान गर्दै यसका उपलब्धिहरूको संरक्षणका लागि रचनात्मक योगदान पु-याउने विश्वास व्यक्त गरे ।

सीमित स्रोतसाधनको उपलब्धताका बीच नेपाल प्रहरीले हालैको प्रदर्शनलाई सापेक्षित रूपमा अत्यन्त संवेदनशील र संयमित भएर सम्बोधन गरेको उल्लेख गर्दै उनले भने, “प्रदर्शनका क्रममा प्रहरीले निरन्तर बल प्रयोग र दमनको नीति अवलम्बन गरेको भए थप सङ्कट बढ्ने र राज्यमा अकल्पनीय क्षति हुने अवस्था सिर्जना हुनसक्ने सम्भावना थियो ।”

यो ऐतिहासिक घडीमा नेपाल प्रहरीका सकल दर्जाहरूबाट प्रदर्शित संयमता र सहनशीलताको गृहमन्त्री अर्यालले उच्च कदर र सम्मान रहेको धारणा राखे । उनले गृह मन्त्रालयबाट प्रहरी सङ्गठनको सुदृढीकरण गर्दै प्रहरी कर्मचारीको मनोबल बढाउनका लागि ठोस प्रयासहरू गर्ने उल्लेख गरे ।

Logo