क्रियाशील सदस्यता वितरणमा कांग्रेसमा विवाद कायमै

क्रियाशील सदस्यता वितरणमा कांग्रेसमा विवाद कायमै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आन्तरिक किचलोमै रुमलिएको छ । पार्टीको विचार सिद्धान्तभन्दा पनि पदीय भागबन्डाको किचलो झन् बढदै गएको छ । प्रमुख प्रतिपक्ष दलको भूमिका निर्वाह गर्ने दायित्वबाट चुकेको कांग्रेसमा दिनहुँ बैठक र छलफल भए पनि दुवै पक्षले आ–आफ्नो अडान नछोड्दा विवाद चर्किंदै गएको छ । पदीय भागबन्डा नै मुख्य कारण मानिएको कांग्रेसभित्रको विवादमा पार्टी सभापति शेरबहादुर देउवाले एकतर्फी रुपमा पेलेर अगाडि बढेको आरोप वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले लगाउँदै आएको छ ।

१४ औं महाधिवेशनको मिति घोषणा भएपछि सभापति देउवाले केन्द्रीय पदाधिकारी र विभाग गठनको कामलाई तीव्रता दिएसँगै कांग्रेसभित्रको विवाद थप चुलिएको हो । आन्तरिक विवादले विभाजनसम्म भोगेको कांग्रेसमा अहिले पनि अन्तर संघर्ष रुमलिँदै आएको छ । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीचको शक्ति सन्तुलन कांग्रेसमा विवाद मुख्य विषय बन्न पुगेको छ ।

१४ औं महाधिवेशन उन्मुख कांग्रेसमा नेताहरुका बीचमा देखिएको अविश्वास र शक्तिको लालसाले आन्तरिक विवाद सतहमा देखिएको छ । देश संघीयतामा गएको लामो समय बितिसक्दा समेत कांग्रेसले आफ्नो पार्टी संगठनलाई संघीय संरचनामा ढाल्न सकिरहेको छैन । भ्रातृ तथा शुभेच्छुक संस्थामा आ–आफ्ना गुटका व्यक्ति राख्नै पर्ने हानाथाप अहिले पनि कायमै छ । पार्टीभित्र संगठनलाई भन्दा पनि नेताहरुको ध्यान आगामी महाधिवेशनमा सभापति र पदाधिकारी बन्नेमा बढी ध्यान केन्द्रित भएको छ ।

कांग्रेसभित्र सभापति देउवा र नेता सिटौला पक्ष आगामी फागुनमा तोकिएको महाधिवेशनको मिति सार्नु पर्ने पक्षमा छन् भने पौडेल पक्ष फागुनमै महाधिवशेन गर्नुपर्ने अडानमा रहेको छ । कांग्रेसले आगामी फागुनमा महाधिवशेनको मिति घोषणा गरे पनि अझै क्रियाशील सदस्यता वितरणको काम टुंगो लगाउन सकेको छैन । क्रियाशील सदस्यता वितरणको विषयमा मुख्य विवाद रहेको छ ।

सांसदसमेत रहेका कांग्रेसका नेता राजन केसीले तोकिएको समयभित्र महाधिवेशन गर्नुपर्ने बताए । उनले भने– ‘अब बहानाबाजी गरेर महाधिवेशनको मिति सार्न मिल्दैन, कार्यकर्ताको चाहना र भावना अनुसार नै महाधिवेशन सम्पन्न गर्नुपर्छ ।’

विधान अनुसार चार वर्षे कार्यकाल सम्पन्न भएर एकपटक विशेष परिस्थिति भन्दै थपिएको एक वर्षको अवधि सकिन लाग्दा समेत कांग्रेसभित्र महाधिवेशन हुने सुनिश्चित हुन सकेको छैन । कांग्रेसको पदाधिकारी बैठकले यही मंसिर मसान्तभित्र क्रियाशील सदस्यता वितरणको काम सम्पन्न गर्ने निर्णय गरेको छ । तर शीर्ष तहमा कुरा मिल्न नसक्दा क्रियाशील सदस्यता वितरणको काम थप पेचिलो बन्दै गएको छ ।

कांग्रेसका नेता रामशरण महतले पार्टी सभापति देउवाले विधि र पद्धति अनुसार नै विभागहरुको गठनको कामलाई अगाडि बढाइरहेको बताए। पछिल्लो समयमा सभापति देउवाले विभागहरुलाई धमाधम पूर्णता दिएपछि पौडेल पक्ष रुष्ट बनेको छ । विभागलाई पूर्णता दिने सभापति देउवाको निर्णय नै पार्टीभित्र विवादको मुख्य एजेन्डा बनेको छ ।नेपाल समाचारपत्रबाट

Logo