कांग्रेसले जनताको विश्वासलाई पुनर्स्थापित गर्न चाहन्छ भने नयाँ पुस्तासँग सहकार्य गर्नैपर्छ -सहमहामन्त्री उपाध्याय

कांग्रेसले जनताको विश्वासलाई पुनर्स्थापित गर्न चाहन्छ भने नयाँ पुस्तासँग सहकार्य गर्नैपर्छ -सहमहामन्त्री उपाध्याय

केन्द्रबिन्दु
114
Shares

काठमाडौं । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले पार्टीलाई पुनः प्रभावकारी बनाउनका लागि आशा जगाउने र नवजीवन दिन सक्ने निर्णय लिनुपर्नेमा जोड दिएकी छन् ।

जारी कांग्रेस केन्दिय कार्यसमिति बैठकमा उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठी सामूहिक जिम्मेवारी र पारदर्शिताको संस्कृति बलियो बनाउनु आजको आवश्यकता रहेको बताएकी हुन् ।

‘हामीले व्यक्तिगत स्वार्थभन्दा माथि उठी सामूहिक जिम्मेवारी, नीतिगत स्पष्टता, र जनताको मूल लक्ष्यप्रति पुनः प्रतिबद्ध हुन जरुरी छ। यदि नेपाली कांग्रेसले आफ्नो गौरवशाली इतिहास, लोकतान्त्रिक आदर्श र जनताको विश्वासलाई पुनर्स्थापित गर्न चाहन्छ भने—हामी सबैले एकताबद्ध भएर आन्तरिक सुधार, हाम्रा मूल्य, मान्यताको संरक्षण र नयाँ पुस्तासँग सहकार्य गर्नैपर्छ।’ उनले भनेकी छन् ।

सहमहामन्त्री उपाध्यायले पार्टीलाई पुनः प्रभावकारी बनाउनका लागि आशा जगाउने र नवजीवन दिन सक्ने निर्णय लिनुपर्नेमा जोड दिएकी छन् । उनले महामन्त्री गगन थापालाई इंगित गर्दै प्रश्न गरेकी छन्, ‘रूपान्तरण भन्ने कुरा के केवल व्यक्तिको अदल–बदलमा सीमित रहने होरु कि प्रणाली, व्यवहार र संस्कृतिको सुधारमा केन्द्रित हुने हो ?’

पार्टीको संगठनात्मक आधारसँग जोडिएको क्रियाशील सदस्यताको विषयमा विधान अनुसार प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने भए तापनि सो प्रक्रिया समयमै पूरा हुन नसकेकोमा उनले चिन्ता पनि व्यक्त गरेकी छन् । ‘विगतका अनुभवले पनि देखाएको छ- महाधिवेशन नजिकिँदा मात्र हतार–हतार सदस्यता नवीकरण र नयाँ वितरण गर्ने परिपाटी दोहोरिँदै आएको छ। यो प्रवृत्तिले न त सदस्यहरूको वास्तविक प्रतिनिधित्व सुनिश्चित गर्छ, न त संगठनमा पारदर्शिता र विश्वसनीयता बढाउँछ।’

उनले जेन–जी आन्दोलनले उठाएका प्रश्नहरूलाई युवाका आवाजका रूपमा मात्र नभई राजनीतिक संस्कारमा नयाँ सोच, पारदर्शिता र जवाफदेहिताको मागका रूपमा बुझ्नुपर्नेमा जोड दिएकी छन् ।

साथै समस्या पर्दा सम्पूर्ण जिम्मेवारी सभापतिमाथि मात्र केन्द्रित गर्नु सन्तुलित नभएको भन्दै उनले भनिन्- ‘आफ्ना सबै काम गराउने अनि अहिले समस्या पर्दा पानी माथिको ओभानो हुँदै आजको अवस्थाको सम्पूर्ण जिम्मेवारी केवल सभापतिमाथि केन्द्रित गर्नु सन्तुलित मूल्याङ्कन होईन, गलत हो। हामीले दोषारोपण होइन, वास्तविकता के हो र सुधारको लागी त्याग गर्न जरूरी छ।’

Logo