नीति तथा कार्यक्रमबारे संसदमा कसले के भने ?

नीति तथा कार्यक्रमबारे संसदमा कसले के भने ?


नेपाल कम्युनिष्ट पार्टीका सांसद सुवासचन्द्र नेम्वाङले सरकारको नीति तथा कार्यक्रमलाई तुलना गर्दै फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काडै संसार भएको धारणा राखेका छन् । संघीय संसद्, प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको जारी छलफलमा आज उनले भने, “सत्ता पक्षले नीति तथा कार्यक्रम राम्रो भन्नु र प्रतिपक्षीले नराम्रो टिप्पणी गर्नु लोकतन्त्रको सुन्दर पक्ष छ ।”

पूर्वसभामुख समेत रहेका सांसद नेम्वाङले निश्चित समयमा देश विकास र आर्थिक समृद्धिको खाका नीति तथा कार्यक्रममा आएको उल्लेख गर्दै निर्वाचनमा जनतासामु गरिएका प्रतिबद्धता नीति तथा कार्यक्रममा आएको बताए ।उनले भन्नुभयो,“सरकारले नीति तथा कार्यक्रम मार्फत सपना देख्नु नराम्रो हो र ? सपना देख्नु अचम्म हो र ? बजेटले नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउँछ, संविधान सबैका लागि स्वीकार्य भएको छ, संविधान सहमतिमा नै जारी भएको हो । ”

नेपाली काँग्रेसका विजयकुमार गच्छदारले सरकारको नीति तथा कार्यक्रम सपनामा महल बनाउने खालको आएको टिप्पणी गर्दै भौतिक पूर्वाधार, सामाजिक विकास, पर्यटन, कृषि जलस्रोत जस्ता महत्वपूर्ण क्षेत्रमा कार्यक्रमले सम्बोधन गर्न नसकेको आरोप लगाए । उनले “नेकाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने चर्चा गर्दै सरकार एकलौटी रुपमा चल्न लागेको छ भने ।”

नेकपाका सांसद देव गुरुङ्ले समृद्ध नेपाल, सुखी नेपालको नारालाई सार्थक बनाउन नीति तथा कार्यक्रम आएको भन्दै अगामी बजेटमा नीति तथा कार्यक्रमलाई सम्बोधन गर्नुपर्ने बताए ।सबै जिल्लालाई सडक सञ्जालले जोड्न ऊर्जा उत्पादन बढाउन, कृषि उत्पादनमा ध्यान दिन उनले सुझाव दिए ।

राष्ट्रिय जनता पार्टीका सांसद महेन्द्रराय यादवले नीति तथा कार्यक्रम अति महत्वकांक्षी भएको, सपना बाँड्ने मात्र काम भएको टिप्पणी गर्दै राजनीति स्थिरता बिना विकास सम्भव छैन, यसैले संविधान संशोधन गर्न माग गरे । उनले तराई/मधेश आन्दोलनका शहीद भएका परिवारलाई राहत दिने विषयमा नीति तथा कार्यक्रम मौन रहेको उल्लेख गर्दै जनसंख्या र भूगोलका आधारमा बजेट ल्याउनुपर्छ भने ।

संघीय समाजवादी फोरम नेपालका सरिता गिरीले आर्थिक वृद्धिदर बढाउने खालका गतिविधि बढाउन र प्रशासन संयन्त्रलाई चुस्त बनाउन सुझाव दिए ।

Logo