काठमाडौं । नेकपा (एमाले)को जारी ११औँ महाधिवेशनमा रामकुमारी झाँक्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा सीमित भएकी छन् ।
नेकपा माओवादी केन्द्रसँग एकता गर्ने क्रममा असन्तुष्टि जनाउँदै नेकपा एसबाट एमाले फर्किएकी झाँक्री अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल पक्षको पदाधिकारी टोलीमा नअटाएकी हुन् ।
नयाँ नेतृत्वका लागि ओली पक्षले तयार गरेको उम्मेदवारहरूको सूचीमा झाँक्रीको नाम केन्द्रीय सदस्यमा रहेको छ ।
ओली समूहले पदाधिकारीका सबै उम्मेदवारको टुंगो लगाएको छ । अध्यक्षमा ओलीकै निरन्तरता हुने गरी उम्मेदवारी रहनेछ । उपाध्यक्ष पदमा विष्णु प्रसाद पौडेल, रामबहादुर थापा बादल, गुरु बराल, पृथ्वी सुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई उम्मेदवार बनाउने सहमति जुटेको हो । महासचिवमा वर्तमान महासचिव शंकर पोखरेल नै दोहोरिने गरी टुंगो लागेको छ भने उपमहासचिव पदमा रघुवीर महासेठ, विष्णु रिमाल र लेखराज भट्ट उम्मेदवार हुने भएका छन् । यसअघि रिमाल उपमहासचिव र महासेठ सचिव थिए ।
यसैगरी सचिव पदमा भानुभक्त ढकाल, छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, शेरधन राई, यामलाल कँडेल, हिक्मत कार्की, महेश बस्नेत र राजन भट्टराईलाई उठाउने तयारी छ। भट्ट, विश्वकर्मा र अर्याल यसअघि पनि सचिव थिए । महाधिवेशनबाट नौ जना सचिव निर्वाचित हुनेछन् ।
यसअघि ओली प्यानलमा लेखराज भट्टको नाम सचिवमा समावेश थियो ।भट्टले फेरि पनि सचिव नबन्ने भन्दै उपमहासचिवमा उम्मेदवारी दिन अडान लिएपछि ओली प्यानलले उम्मेदवारको सूची हेरफेर गर्दै भट्टलाई उपमहासचिवमा बढुवा गर्दै भानुभक्त ढकाललाई सचिवमा झारिएको हो । ढकालको नाम यसअघि उपमहासचिवमा थियो ।































प्रतिक्रिया