काठमाडौं ।
नेपाली कांग्रेसले नेपाल र चीनका सीमा सम्बन्धमा यथार्थ विवरण सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । कांग्रेसको हिजाे बसेको केन्द्रीय कार्यसमिति बैठकले दुवै देशको सीमा सम्बन्धमा स्थानीय सरोकार पक्षको भनाइ, सीमा क्षेत्रको भूमिको ऐतिहासिक भोगचलन सम्बन्धी तथ्यांक र पार्टीका केन्द्रीय सदस्य जीवनबहादुर शाही नेतृत्वको टोलीले उठाएका विषयलाई समेत ध्यानमा राखी छानबिन गरी यथार्थ स्थिति सार्वजनिक गर्न माग गरेको छ ।
कांग्रेसले छिमेकी देश लगायत सबै मित्रराष्ट्रसँग सार्वभौम बराबरीका आधारमा सम्बन्ध राख्ने कुरामा विश्वास गर्ने उल्लेख गरेको छ । पार्टीले सन् १९५९ मा नेपालका तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले सीमा सम्बन्धमा चीन सरकारसँग गरेको सम्झौताकै आधारलाई टेकेर दुई देशबीच एकार्कामा अहस्तक्षेप र एक अर्काको भूभागलाई सम्मान गर्ने नीति पालन गर्दै आएको स्पष्ट पारेको छ । कांग्रेसले दुई देशको मैत्रीपूर्ण सम्बन्धलाई सत्तामा रहँदा र नरहँदा पनि सधैं उच्च प्राथमिकतामा राख्दै आएको जनाएको छ ।
पाण्डे प्रतिनिधिसभा सदस्यमा मनोनीत
बैठकले प्रतिनिधिसभामा पार्टीका तर्फबाट समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्य सूर्यबहादुर केसीको निधन भई रिक्त भएको पदमा नियमानुसार खसआर्य समूहतर्फ सूचीमा नाम रहेका मोहनप्रसाद पाण्डेलाई मनोनयन गर्ने निर्णय गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सोही अनुसार आवश्यक कार्यान्वयनका लागि निर्वाचन आयोगलाई पत्राचार गरिने उनले बताए ।
कांग्रेसले इलाम, उदयपुर, सिरहा, रुकुम (पश्चिम) लगायत जिल्लामा गत स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट स्थानीय तहका विभिन्न पदमा निर्वाचित व्यक्ति पार्टी परित्याग गरी अन्यमा प्रवेश गरेको हुँदा निजहरु निर्वाचित भएको पद रिक्त गरिदिन निर्वाचन आयोगलाई लेखी पठाउने र सोको जानकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत दिने निर्णय गरेको छ ।
यसैगरी बैठकले पार्टीको आगामी १४ औँ महाधिवेशनको प्रयोजनका लागि जिल्लामा वितरण भइरहेको नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यताको नवीकरणको सूची तयार गरेर प्रकाशन गरी अनिवार्य रुपमा केन्द्रमा पठाइसक्नु पर्ने अवधि आगामी मंसिर मसान्त कायम गरेको छ ।
थापा सहमहामन्त्रीमा समायोजन
बैठकले कांग्रेसमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवेश गरेका सुनिलबहादुर थापालाई पार्टीको सहमहामन्त्री तथा सो पार्टीका अन्य नेता रामप्रसाद भट्टराई, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, वृजलाल यादव, किरण गिरी र टिएन योगीलाई केन्द्रीय सदस्य तथा दिलीप राई, आशाराम चौधरी र राजेशबहादुर सिंहलाई पार्टी आमन्त्रित केन्द्रीय सदस्यमा समायोजन गर्ने निर्णय गरेको छ । राप्रपाका नेता थापासहित सो पार्टीका केन्द्रीय कार्यसमितिका १६ सदस्यसहित जम्मा ३१ जना गत साउन १३ गते कांग्रेसमा प्रवेश गरेका थिए।
बैठकले कोभिड–१९ संक्रमणको रोकथाम, समुचित उपचार र राहत सुनिश्चित गर्न माग गरेको छ । पार्टीले कोभिड—१९ संक्रमणबाट असामयिक निधन भएकाहरुप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । बैठकले उनीहरुका शोकाकूल परिवारजनमा समवेदना प्रकट गर्नाका साथै संक्रमित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
यसैगरी बैठकले तिहार, नेपाल सम्वत् ११४१ र छठका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीमा सुस्वास्थ, दीर्घायु, सुख, शान्ति र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाका अध्यक्षतामा बसेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले प्रस्ताव प्रस्तुत गरेका थिए भने वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, अर्जुनप्रसाद जोशी, कमला पन्त, धनराज गुरुङ, गगनकुमार थापा, देवेन्द्रराज कँडेल र कर्णबहादुर बुढाले आआफ्नो धारणा व्यक्त गरेका थिए ।





























प्रतिक्रिया