काठमाडौं । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार पौष १४ गते राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाइसकेका छन् । आयोगले स्विकृत गरेको प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ अनुसार समानुपातिक सूचीमा सातवटा क्लष्टर हुनेछन् ।
आदिवासी जनजाती, खस आर्य, थारु, दलित, मधेशी मुस्लिम र पिछडिएको क्षेत्रबाट उम्मेद्वार चयन गर्दा कम्तिमा आधा अर्थात् ५० प्रतिशत महिला उम्मेदवार चयन गर्नुपर्नेछ । प्रतिनिधिसभामा रहने २७५ जना सांसदमध्ये दलहरूले देशव्यापी रुपमा पाएको मतका आधारमा समानूपातिक प्रणालीबाट ११० जना निर्वाचित हुनेछन् ।
निर्वाचन आयोगको निर्देशिका अनुसार, आदिवासी जनजातीमा २.७२ प्रतिशत उम्मेदवार चयन गर्नुपर्नेछ । खस आर्यमा ३०.२ प्रतिशत, थारुमा ६.५२, दलित १३.४४ प्रतिशत, मधेशीमा १६.१५, मुस्लिममा ४.८९ र पिछडिएको क्षेत्रबाट कम्तिमा ४.०२ प्रतिशत उम्मेद्वार छान्नुपर्ने भनेको छ ।
राजनीतिक दलहरूले कम्तिमा ११ र बढीमा ११० उम्मेदवार सहितको बन्दसूची पठाउन पाउनेछन् । निर्वाचन आयोगले दिएको दुई दिने समयभित्र ६४ वटा दलले तीन हजार ४२४ उमेदवारको नाम उल्लेख भएको बन्दसूची बुझाएका छन् । केही दल एउटै निर्वाचन चिह्नमा चुनावमा जाने भएकाले समानुपातिक मतपत्रमा ५८ दलको मात्रै चिह्न हुनेछ । पौष २० गते आयोगले अन्तिम सूची प्रकाशन गर्नेछ ।
फागुन २१ गते हुने निर्वाचनमा २ वटा मतपत्र हुनेछन् । मतदाताले प्रत्यक्ष र अर्को समानुपातिकका निम्ति मतदान गर्नेछन् । चुनाव निम्ति एक करोड ९ लाख तीन हजार ६९ मतदाता छन् ।
समानुपातिक पद्धतिमा सिङ्गो देश एक निर्वाचन क्षेत्र मानिनेछ । फागुन २१ गते दलले प्राप्त गरेको मतका आधारमा सिट भागबण्डा गरी सांसद छानिनेछन् । समानुपातिकमा तीन प्रतिशत मत ल्याएको र प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेको हुनुपर्ने कानुनी व्यवस्था छ। तीन प्रतिशत कम ल्याउने दलको मत कूल मतमा गणना हुँदैन । समानुपातिक निर्वाचन निर्देशिका अनुसार दलले पाएको कूल मतलाई सुत्रअनुसार विजोर संख्याले भाग गरिनेछ ।
नाम पठाउँदा तलमाथि पार्न पाइने छैन । सूचीका आधारमा पठाउनुपर्नेछ । नेपालको संविधान २०७२ मा संसद्मा कुल सदस्य संख्याको कम्तीमा एक तिहाई महिला हुनुपर्ने व्यवस्था गरेको छ ।
कसरी हुन्छ छनोट ?
देशभरि खसेको समानुपातिक तर्फको मतको कुल सङ्ख्याबाट ३ प्रतिशत मत मत कती हुन्छ तय भए पछी ३ प्रतिशतको थ्रेस होल्ड कटाउने दलहरुको मात्र मत गणना गरेपछि हुने मतलाई जोडेर कुल योगफल तयार पारिन्छ ।
उक्त कुल योगफललाई समानुपातिकको कुल सिट सङ्ख्या ११० ले भाग गरी ११० ले भाग गर्दा जति अङ्क आउँछ त्यो अङ्कले फेरि ३ प्रतिशत मत कटाएका राजनीतिक दलले पाएको समानुपातिक तर्फको कुल मतलाई भाग गरिन्छ । यसो गर्दा जुन अङ्क आउँछ त्यति हाराहारीको सिट पाउने अवस्था हुन्छ ।
तर आयोगले ठ्याक्कै यही सूत्र प्रयोग नगरी ‘सेन्ट लक’ फर्मूला प्रयोग गरेर सिट सङ्ख्या निकाल्ने गर्छ । आयोगले दलको समानुपातिक सिट सङ्ख्या निकालेपछि एक साताभित्र दलहरूलाई सांसदको नाम पठाउन निर्देशन दिन्छ । दलहरूले यसअघि नै बुझाएको बन्दसूचीको विभिन्न क्लष्टरमा रहेको पहिलो स्थानमा रहेका नामलाई प्राथमिकता दिँदै सांसदहरूको छनौट गरेर आयोगमा पठाउनुपर्छ ।
३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित प्रत्यक्ष निर्वाचनबाट हुन सकेको छैन भने दलहरूले समानुपातिकबाट पुर्याउनुपर्ने हुन्छ। त्यसपछि क्रमशः अन्य क्रस्टरको पहिलो नम्बरमा हुनेको नाम छनोट गर्नुपर्ने हुन्छ ।
समानुपातिकतर्फका सांसदहरूकाे टुंगोलगायत कतिपय प्रक्रियाहरू प्रत्यक्ष निर्वाचनको नतिजामा निर्भर हुन्छ । प्रत्यक्षतर्फ नै पर्याप्त महिला निर्वाचित भएमा समानुपातिक सूचीमा रहेका पुरुष उम्मेदवारहरू पनि चयन गर्ने बाटो खुला हुन्छ । निर्वाचन आयोगले प्रत्यक्षतर्फको नतिजापछि मात्रै समानुपातिकको मत गणना हुने गर्दछ ।





























प्रतिक्रिया