काठमाडौँ। नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन समयमै हुन नसकेपछि पार्टीभित्रको विवाद तीव्र बन्दै गएको छ । यही सिलसिलामा विशेष महाधिवेशन पक्षधर नेताहरूले पुस २७ र २८ गते नै विशेष महाधिवेशन गर्नुपर्ने माग दोहो¥याएका छन्।
विशेष महाधिवेशन पक्षधर समूहले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै हालको राजनीतिक परिस्थिति र पार्टीभित्रको असन्तुष्टिका कारण विशेष महाधिवेशन अपरिहार्य भइसकेको दाबी गरेको हो।
सिलसिलाको सुरुआत नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि भएको हो। पूर्वनिर्धारित कार्यसूचीअनुसार महाधिवेशन हुन नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारी थालेका थिए। सोही क्रममा भृकुटीमण्डपको हल बुक गरिएको जानकारी पनि सार्वजनिक भएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेता देवराज चालिसेले पार्टीसँग अब विशेष महाधिवेशनबाहेक अन्य विकल्प नरहेको बताए। “नेपाली कांग्रेस अहिले यस्तो अवस्थामा पुगेको छ, जहाँ विशेष महाधिवेशन नगरी पार्टीलाई अगाडि बढाउन सकिँदैन,” उनले भने।
जेन–जी आन्दोलनपछि बद्लिएको राजनीतिक सन्दर्भ, पार्टीभित्र बढ्दो असन्तुष्टि र अहिलेकै नीति तथा नेतृत्वमा आगामी निर्वाचनमा जान कठिन हुने निष्कर्षमा पक्षधर नेताहरू पुगेका छन्। पत्रकार सम्मेलनमा वाचन गरिएको प्रेस विज्ञप्तिमा केन्द्रलाई लक्षित गर्दै भनिएको छ, “पार्टी केन्द्रले पुस २७–२८ मा विशेष महाधिवेशन गर्ने जिम्मेवारी पूरा गर्नेछ भन्ने हाम्रो विश्वास छ।”
कांग्रेस नेतृत्वले भने यस विषयमा औपचारिक निर्णय गरिसकेको छैन। तर नियमित महाधिवेशन स्थगन, विशेष महाधिवेशनको तयारी र नेताहरूको सार्वजनिक दबाबले पार्टी निर्णायक मोडमा पुगेको संकेत देखिएको छ ।





























प्रतिक्रिया