काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभा सदस्य निर्वाचनलाई केन्द्रमा राख्दै बाहिरी कार्यक्रम स्थगित गरी आन्तरिक राजनीतिक छलफललाई तीव्र बनाएका छन्। एकता प्रक्रियामा जोडिएका घटक दलहरूबीच सम्मानजनक चुनावी तालमेलको खाका कोर्न प्रचण्ड आज दिनभर पार्टीभित्रै सक्रिय देखिएका हुन्।
पार्टी नेतृत्वका अनुसार प्रचण्डले बिहान सहसंयोजक माधवकुमार नेपालसँग राष्ट्रिय सभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा कसरी साझा रणनीतिका साथ अघि बढ्ने भन्ने विषयमा गम्भीर छलफल गरेका थिए । त्यसपछि दिउँसो एकतामा आबद्ध १७ घटक दलका प्रमुख नेताहरूसँग संयुक्त बैठक गर्ने तयारी छ ।
नेकपाको केन्द्रीय कार्यालयका मुख्य सचिव गणेशमान पुनका अनुसार उम्मेदवारी मनोनयनको समयसीमा नजिकिएकाले नेतृत्व तहमा उच्चस्तरीय राजनीतिक मन्थन भइरहेको छ । “राष्ट्रिय सभा सदस्य निर्वाचनका विषयमा आन्तरिक छलफल निरन्तर चलिरहेको छ। आज नै पार्टीका उम्मेदवार टुंग्याउनुपर्ने भएकाले संयोजक बिहानैदेखि छलफलमा व्यस्त हुनुहुन्छ,” पुनले बताए ।
स्रोतका अनुसार प्रचण्डले माधवकुमार नेपालका साथै महिन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, रञ्जिता श्रेष्ठलगायत नेताहरूसँग छुट्टाछुट्टै परामर्श गरिसकेका छन्। राष्ट्रिय राजनीतिमा शक्ति सन्तुलन कायम राख्ने र गठबन्धनलाई मजबुत बनाउने उद्देश्यसहित छलफल भइरहेको नेताहरूको भनाइ छ ।
फागुन २० गते पदावधि सकिने १८ राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन आयोगले माघ ११ गते निर्वाचन तोकेको छ। आयोगले आज बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरेको छ ।
नेकपा नेतृत्वले राष्ट्रिय सभामा प्रगतिशील र परिवर्तनकारी शक्तिको बलियो उपस्थिति सुनिश्चित गर्न चाहेको संकेत प्रचण्डको सक्रियताले दिएको छ। यही रणनीतिअनुसार कांग्रेस र एमाले नेतृत्वसँग पनि सम्मानजनक चुनावी तालमेलका विषयमा निरन्तर संवाद भइरहेको नेताहरूले बताएका छन्।





























प्रतिक्रिया