काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०७९ भएको तीन वर्ष पूरा भएको छ । पाँच वर्षे कार्यकालका लागि भएको निर्वाचन दुई वर्ष अवधि बाँकी रहँदै भदौमा भएको जेनजी आन्दोलनपछि संसद् विघटन भएकाले कार्यकाल खुम्चिन पुगेको छ ।
आगामी फागुन २१ गतेलाई निर्वाचनको मिति तय भइसकेको छ र दलहरू पनि निर्वाचनको तयारीमा जुटिसकेका छन्। २०७९ सालको निर्वाचनमा दलहरूले आफ्ना उम्मेदवार मात्र उठाएनन्, दलहरूबीच चुनावी सहकार्य पनि गरेर निर्वाचन लडेका थिए। यसपटकको निर्वाचन पनि दलहरू सहकार्यमा उठ्ने हुन् वा एक्लाएक्लै भन्ने कुरा भने हेर्न बाँकी नै छ।
निर्वाचन आउन ५४ दिन मात्र बाँकी रहँदा २०७९ को निर्वाचनमा सबैभन्दा कम मतअन्तरले जित्ने १० नेताहरूको सूची यस्तो रहेको छ।
पाँचथर – वसन्त कुमार नेम्बाङ (४६ मत)
२०७९ को निर्वाचनमा सबैभन्दा कम मतअन्तरले जितेर संसद् प्रवेश गर्ने पाँचथरका सांसद वसन्त कुमार नेम्बाङ हुन्। उनले ४६ मत अन्तरले जितेर संसद् प्रवेश गरेका हुन्। कांग्रेस, माओवादी केन्द्र र समाजवादी पार्टीका साझा उम्मेदवार भीष्मराज आङदेम्बेलाई उनले पराजित गरेका थिए। करिब १ लाख ४० हजार मतदाता रहेको पाँचथरमा उनले कुल ३२ हजार १३५ मत प्राप्त गरेका थिए।
एमाले केन्द्रीय सदस्यसमेत रहेका उनी २०८१ सालमा पार्टी कामका सिलसिलामा ताप्लेजुङ पुगेका बेला अस्वस्थ भई लडेका थिए। हाल उनी स्वास्थ्य उपचारका लागि भारतको मुम्बईमा छन्। स्वास्थ्य समस्याका कारण उनी आगामी निर्वाचन लड्ने छैनन्।
सुनसरी –४ ज्ञानेन्द्र बहादुर कार्की (११२ मत)
२०७९ को निर्वाचनमा कम मतअन्तरले जितेर संसद् प्रवेश गर्ने दोस्रो नम्बरमा छन्, ज्ञानेन्द्रबहादुर कार्की। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्रीसमेत रहेका कार्कीले प्रतिस्पर्धीभन्दा जम्मा ११२ मत बढी पाएर सांसद बनेका हुन्। कार्कीले ३० हजार ४८३ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जगदीश प्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरेका थिए।
२०६३ मा जलस्रोतमन्त्री, २०७० सालमा संविधानसभा सदस्य र २०७४ सालमा अर्थमन्त्रीको जिम्मेवारी निर्वाह गरेका उनी २०७८ सालमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री र सञ्चार तथा सूचना प्रविधिमन्त्री बनेका थिए। यसअघि २०७४ सालमा उनी सुनसरी क्षेत्र नं। ४ बाटै प्रतिनिधिसभामा निर्वाचित भएका थिए।
इलाम–२ सुवासचन्द्र नेम्बाङ (११४ मत)
२०७९ को निर्वाचनमा कम मतअन्तरले चुनाव जितेर संसद् प्रवेश गर्ने उच्च ओहोदाका व्यक्ति हुन्, स्व. सुवासचन्द्र नेम्वाङ । २०७९ को मंसिरमा भएको निर्वाचनमा सहजै चुनाव जित्ने अनुमान गरिएका नेम्बाङलाई चुनाव जित्न मुस्किल भएको परिणाम आएको हो।
नेपाली कांग्रेसका डम्बर बहादुर खड्कालाई जम्मा ११४ मतले पछि पार्दै नेम्वाङले ३० हजार २० मत प्राप्त गरेका थिए। पूर्व सभामुख तथा दुई पटक राष्ट्रियसभा अध्यक्ष रहेका नेम्बाङ संविधानसभाका अध्यक्षसमेत थिए। उनी २०६४ र २०७० को संविधानसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित भएका थिए। उनी कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासन मन्त्री र सार्वजनिक लेखा समितिका अध्यक्षसमेत भइसकेका थिए।
समकालीन राजनीतिमा संविधानका ज्ञाता र इमानदार छवि बनाएका नेम्वाङको २०८० भदौ २७ मा हृदयघातका कारण निधन भएपछि सो क्षेत्रबाट उनका छोरा सुहाङ नेम्वाङ सांसद बनेका थिए ।
धनुषा–४ रघुवीर महासेठ (१२४ मत)
२०७९ को निर्वाचनमा धनुषा क्षेत्र नं. ४ बाट एमाले उपमहासचिव रघुवीर महासेठ जम्मा १२४ मत अन्तरले विजयी भएका थिए। नेपाली कांग्रेसका नेता महेन्द्र यादवसँग चुनाव लडेका महासेठले ३२ हजार २३६ मत प्राप्त गरेका थिए।
२०७४ को निर्वाचनमा सर्लाही क्षेत्र नं. २ बाट राजेन्द्र महतोलाई हराउँदै उनी प्रतिनिधिसभामा निर्वाचित भएका थिए। महासेठ चार पटक मन्त्री र पटक–पटक सांसद भइसकेका नेता हुन्। महासेठले मुस्किलले चुनाव जित्दा उनकी श्रीमती जुलीकुमारी महासेठले धनुषाकै क्षेत्र नं. ३ बाट १० हजारभन्दा बढी मत अन्तरले चुनाव जितेकी थिइन्।
काठमाडौं–१ प्रकाशमान सिंह (१२५ मत)
२०७९ को निर्वाचनमा काठमाडौं क्षेत्र नं. १ को मत परिणाम पनि रोचक हुन पुगेको थियो। नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र मिश्रलाई १३२ मतले हराउँदै विजयी भएका थिए। सिंहले ७,१४३ मत पाएका थिए भने मिश्रले ७,०११ मत प्राप्त गरेका थिए।
यसअघि २०७४ को चुनावमा पनि सिंह र मिश्रबीच प्रतिस्पर्धा भएको थियो। त्यतिबेला मिश्र ८१९ मतले पराजित भएका थिए। अघिल्लो चुनावमा विवेकशील साझाबाट तराजु चिह्न लिएर उठेका मिश्र यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हलो चिह्न लिएर उम्मेदवार बनेका थिए।
बर्दिया–२ लालवीर चौधरी (१३६ मत)
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा कम मत अन्तरमा जित्नेमा लालवीर चौधरी पनि पर्छन्। उनी निकटतम प्रतिस्पर्धीभन्दा जम्मा १३६ मत बढी पाएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। स्वतन्त्र उम्मेदवारी दिएका चौधरीले माओवादी केन्द्रका सुरेश पन्थलाई १३६ मतले पराजित गर्दै २६,५२० मतसहित विजयी भएका थिए। पन्थले २६,३८४ मत प्राप्त गरेका थिए।
रेशम चौधरी डिल्लीबजार कारागारबाट अध्यक्ष रञ्जिता श्रेष्ठमार्फत निर्वाचनमा होमिएका बेला बुवा लालवीर भने स्वतन्त्र उम्मेदवार थिए। उनी त्यतिबेला छोरा–बुहारीले स्थापना गरेको पार्टीका साधारण सदस्यसमेत थिएनन्। २०७४ सालको निर्वाचनमा एमालेले लालवीरलाई कैलाली–१ को प्रदेशसभा (क) मा उम्मेदवार बनाएको थियो, तर उनले चुनाव जित्न सकेनन्।
धनुषा–२ रामकृष्ण यादव (१५७ मत)
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा धनुषा क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका नेता रामकृष्ण यादव १५७ मतले विजयी भएका थिए। तराई–मधेस पार्टी परित्याग गरी एमाले प्रवेश गरेर चुनाव लडेका उमाशंकर अरगरियालाई हराउँदै यादव सांसद बनेका हुन्।
यादवले २०,११२ मत प्राप्त गरे भने अरगरियाले १९,९५५ मत ल्याएका थिए। नेकपा (एस) का रामचन्द्र झाले १३,६०५ र जसपाका आनन्द यादवले १२,९०२ मत प्राप्त गरेका थिए। यादव २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा साविकको निर्वाचन क्षेत्र नं। २ बाट निर्वाचित भएका थिए।
पर्सा–३ राजकुमार गुप्ता (१६७ मत)
पर्सा क्षेत्र नं. ३ बाट नेकपा एमालेका राजकुमार गुप्ता १६७ मतले नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
गुप्ताले २४,३१९ मत प्राप्त गर्दा चौधरीले २४,१५२ मत प्राप्त गरेका थिए। मतगणनाका क्रममा कहिले कांग्रेस त कहिले एमाले अगाडि हुँदै आएकोमा अन्त्यमा गुप्ताले बाजी मारे। २०७४ को निर्वाचनमा यस क्षेत्रमा संघीय समाजवादी फोरम नेपालका हरिनारायण रौनियार विजयी भएका थिए।
चुनाव जितेपछि मन्त्रीसमेत बनेका गुप्ता हाल भ्रष्टाचार मुद्दामा जेल चलान भएका छन्।
दाङ–२ रेखा शर्मा (१९३ मत)
२०७९ को निर्वाचनमा अप्रत्याशित नतिजा निकाल्दै माओवादी केन्द्रकी रेखा शर्माले एमाले महासचिव शंकर पोखरेललाई १९३ मत अन्तरले पराजित गरेकी थिइन्। शर्माले २६,८७७ मत प्राप्त गर्दा पोखरेलले २६,६८१ मत प्राप्त गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारी करिब १७ हजार मतसहित तेस्रो स्थानमा रहेका थिए।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी शर्मालाई नेपाली कांग्रेस र नेकपा (एस)को समर्थन रहेको थियो। शक्तिशाली नेतालाई हराएकी शर्मालाई माओवादीले सूचना प्रविधि मन्त्रीसमेत बनाएको थियो। यसपटक भने आन्तरिक विवादका कारण उनी प्रस्तावित उम्मेदवारको सूचीमा परेकी छैनन्।
ताप्लेजुङ – योगेश भट्टराई (२०८ मत)
२०७९ सालको निर्वाचनमा सबैभन्दा कम मतअन्तरले जित निकाल्ने १० औँ स्थानमा छन्, नेकपा एमाले नेता योगेश भट्टराई।
ताप्लेजुङमा एमालेबाट दोस्रो पटक उम्मेदवार बनेका भट्टराईले गठबन्धनका तर्फबाट माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री (पराग) लाई २०८ मतले पछि पार्दै विजयी भएका थिए। भट्टराईले २१,९४३ मत प्राप्त गर्दा बुढाक्षेत्रीले २१,७३५ मत प्राप्त गरेका थिए। भट्टराई अघिल्लो निर्वाचनमा पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
२०८२ साल फागुनमा हुने निर्वाचनमा पनि भट्टराई सोही क्षेत्रबाट चुनाव लड्न सिफारिस भएका छन्।





























प्रतिक्रिया