ओलीलाई योगेश भट्टराईले भने- मेरो लागि किचलो गर्दिनँ, केही क्षेत्रमा उम्मेदवार मिलाउनुस्

ओलीलाई योगेश भट्टराईले भने- मेरो लागि किचलो गर्दिनँ, केही क्षेत्रमा उम्मेदवार मिलाउनुस्

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचन क्षेत्रका केही उम्मेदवारहरूको टिकटबारे पुनर्विचार गर्न आग्रह गरेका छन् । उम्मेदवारी मनोनयनको पूर्वसन्ध्यामा सार्वजनिक धारणा राख्दै उपमहासचिव भट्टराईले पार्टीभित्रको आन्तरिक व्यवस्थापनका लागि अझै पनि केही क्षेत्रमा हेरफेर गर्न सकिने सुझाव दिएका हुन् ।

पार्टी अध्यक्ष ओलीलाई ‘हम्बल रिक्वेस्ट’ गर्दै भट्टराईले भनेका छन्, “आज पनि १६५ निर्वाचन क्षेत्रमध्ये केही क्षेत्रमा उम्मेदवारहरूलाई मिलाउन सकिन्छ भने मिलाउनुहोस्। मैले मेरो लागि मागेको छैन। म स्पष्ट भइसकेँ कि म ताप्लेजुङबाट उम्मेदवार हुन इच्छुक थिए, तर पार्टी अध्यक्षले सार्वजनिक ढङ्गले निर्णय गरेर पठाइसकेपछि, अब म त्यसमा कुनै किचलो गर्नेवाला छैन।”

पार्टीभित्र फरक मत र असन्तुष्टि हुनु स्वाभाविक भए पनि निर्वाचनको समयमा सबै एकजुट हुनुपर्नेमा उनले जोड दिएका छन् ।

उनले भनेका छन्,’फागुन २१ गते सूर्य चिन्ह, त्यो बाहेक न दायाँ न बायाँ, वन्ली सूर्य चिन्ह । नो राइट नो लेफ्ट। हाम्रो मिसन भोलिदेखि सुरु हुन्छ। उम्मेदवारको मनोनयनदेखि सुरु हुन्छ। म यो अपिल गर्न चाहन्छु, पार्टीभित्र फरक मतहरू हुन्छन्, भिन्न मतहरू हुन्छन्, त्यसलाई सम्मान गर्नुपर्छ । तर, ती फरक मत, भिन्न मतहरूले अरू पार्टीसँगको प्रतिस्पर्धामा नेकपा एमालेलाई कमजोर बनाउनु हुँदैन, घाटा गर्नु हुँदैन।’

Logo