उम्मेदवारसँग दीर्घकालीन रणनीतिक योजना खोज्दै व्यवसायी

उम्मेदवारसँग दीर्घकालीन रणनीतिक योजना खोज्दै व्यवसायी

केन्द्रबिन्दु
30
Shares

राँझा। प्रतिनिधिसभा सदस्य उम्मेदवारसँग बाँकेका उद्योगी तथा व्यवसायीले जिल्लाको समृद्धिका लागि दीर्घकालीन रणनीतिक योजना ल्याउन आग्रह गरेका छन्।

नेपालगञ्ज नाकाबाट अवैध रूपमा हुने ओसारपसारका कारण जिल्लाको व्यवसाय धरासायी भएको, व्यवसायी पलायन बढेको, एकीकृत जाँच चौकी (आइसिपी) निर्माण भए पनि त्यसले बाँकेको आर्थिक चलायमानतामा अपेक्षित योगदान दिन नसकेको तथा नौबस्तास्थित औद्योगिक क्षेत्र निर्माणमा सरकारको स्पष्ट योजना नदेखिएको उल्लेख गर्दै व्यवसायीले दीर्घकालीन रणनीतिक योजना आवश्यक रहेको बताएका छन्।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव भीम रानाभाटका अनुसार उद्योग तथा व्यवसाय फस्टाउने वातावरण निर्माण भए मात्र समृद्धि हासिल गर्न सकिने भएकाले उम्मेदवारले दीर्घकालीन रणनीतिक योजना ल्याउन आवश्यक छ। बाँकेको समग्र विकासका लागि दीर्घकालीन प्रभाव पार्ने योजना आवश्यक रहेको र विजयी भएपछि त्यसलाई ठोस निर्णयसहित कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ। आर्थिक विकास र समृद्धिका लागि इमान्दारितापूर्वक काम गर्ने उम्मेदवारलाई जिताउनुपर्ने धारणा पनि व्यक्त गरिएको छ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बाँकेमा भौतिक पूर्वाधार विकास भए पनि उद्योग तथा व्यवसाय क्षेत्र अपेक्षाअनुसार विकास हुन नसकेको उल्लेख गर्दै समग्र विकासका लागि रणनीतिक योजना बनाएर काम गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। भौतिक पूर्वाधार मात्र विकास नभई जनताको जीवनस्तर उकास्ने कार्यलाई पनि विकासको अभिन्न अङ्गका रूपमा बुझ्नुपर्ने उनको भनाइ छ।

श्रेष्ठका अनुसार नौबस्ता औद्योगिक क्षेत्र निर्माण शीघ्र सुरु गर्न, सिक्टा सिँचाइ आयोजनाको अधुरो काम सम्पन्न गर्न तथा नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन सरकारमाथि दबाब दिनसक्ने जनप्रतिनिधि बाँकेलाई आवश्यक छ। साथै बाँके राष्ट्रिय निकुञ्जलाई पर्यटन आकर्षणको केन्द्र बनाउन पूर्वाधार निर्माण आवश्यक रहेको र वन्यजन्तुबाट हुने धनजनको क्षति बढेकाले त्यसको समाधानका लागि नीतिगत व्यवस्था आवश्यक रहेको उल्लेख गरिएको छ।

नेपालगञ्जका होटल व्यवसायी भास्कर काफ्लेले होटल तथा पर्यटन क्षेत्रमा ठूलो सम्भावना रहे पनि अस्थिर राजनीतिका कारण व्यवसायी निरास भएको उल्लेख गर्दै अब समग्र विकासको स्पष्ट योजना भएका उम्मेदवारलाई समर्थन गर्नुपर्ने धारणा राखेका छन्।

बाँके क्षेत्र नं २ बाट उम्मेदवार रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मोहम्मद इस्तियाक राईले निर्वाचित भएमा भौतिक पूर्वाधार विकाससँगै जनताको जीवनस्तर सुधार गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनले विगतमा मन्त्री हुँदा गरेको कामको उदाहरण प्रस्तुत गर्दै आर्थिक, शैक्षिक, स्वास्थ्यलगायत क्षेत्रको विकासमार्फत आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य रहेको बताएका छन्।

Logo