अन्तिम लडाईँमा साथ दिन पर्वतवासीलाई जोशीको भावुक आग्रह

अन्तिम लडाईँमा साथ दिन पर्वतवासीलाई जोशीको भावुक आग्रह

केन्द्रबिन्दु
27
Shares

पर्वत। राजनीति कहिले नारा हुन्छ, कहिले सत्ता। तर कहिलेकाहीँ राजनीति एउटा मान्छेको जीवनभरको ऋण तिर्ने प्रयास पनि हुन्छ। त्यही भावनामा उभिएर नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार अर्जुनप्रसाद जोशीले पर्वतवासीसँग अन्तिम पटक भावुक अपिल गरेका छन् ।
तीन दशकभन्दा बढी समय पर्वतको माटोसँग जोडिएर राजनीति गरेका जोशीले भावुक हुँदै जिल्लावासीसँग अन्तिम पटक विश्वासको मत मागेका छन् ।

आफ्नो ३५ वर्ष लामो राजनीतिक यात्रामा सुख–दुःखका हरेक पल पर्वतवासीसँगै विताएको उल्लेख गर्दै जोशीले भनेका छन्, “यो माटो, यहाँका जनता र जनताकै भरोसाले मलाई यहाँसम्म ल्याएको हो,म सँधै यहाँका जनताको सुखदुखमा रहेँ,म जनप्रतिनिधिका रूपमा रहँदा विकास, सुशासन र इमानदार राजनीतिलाई कहिल्यै स्वार्थसंग सम्झौता गरिन।”

जोशीले आजको पुस्ताले खाली इतिहासको रटान नभएर भरोसायोग्य भविष्य खोजिरहेको उल्लेख गर्दै नेपाली कांग्रेस अहिले जनताको आवाज सुन्ने र परिवर्तन स्वीकार्ने चरणमा आएको बताए । फागुन २३–२४ को जनआन्दोलनले दिएको मुख्य सन्देश—भ्रष्टाचार, बेथिति र अधिनायक प्रवृत्तिविरुद्धको चेतनालाई कांग्रेसले आत्मसात् गरिसकेको र पार्टीमा पनि सहि नेतृत्व र नीति स्थापित भैसकेको दाबी गरे ।

“म पर्वतको भौगोलिक कठिनाइ, यहाँका पीडा र सम्भावना राम्ररी बुझ्छु,” जोशीले भने, “अब विकास र सुशासनलाई निर्णायक मोडमा पु¥याउन बाँकी छ, यहाँ गर्नुपर्ने कामहरु धेरै छन् ।” यही निर्वाचनलाई आफ्नो अन्तिम चुनावी यात्रा भएको जनाउँदै उनले भावुक हुँदै मतदातासँग अन्तिम लडाईँमा साथ दिन आग्रह गरे।

सबै घर–घर पुग्न नसकेको स्वीकार गर्दै जोशीले मतदाताको सुझाव र गुनासो सधैं पार्टी नेतृत्वसम्म पु¥याउने प्रतिबद्धता दोहो¥याए । “अहिले समय सीमित भए पनि सम्बन्ध टुट्दैन,म जित्दापनि हार्दापनि कहिल्यै जनताबाट टाढा भइन,सँधै साथमै हुनेछु” उनले भने ।

जनप्रतिनिधिका रूपमा रहँदा आफूले पद र प्रतिष्ठाभन्दा जनताको भरोसालाई पहिलो स्थान दिएको दाबी गर्दै जोशीले भने, “मैले गल्ती गर्न सक्छु, तर पर्वतलाई धोका दिएको छैन।” विकास, सुशासन र इमानदार राजनीतिका लागि निरन्तर लडेको उनको भनाई छ ।

पर्वतको भौगोलिक कठिनाइ, विकासको अभाव र युवाको पलायनप्रति चिन्ता व्यक्त गर्दै उनले बाँकी राजनीतिक जीवन पर्वतको भविष्य सुरक्षित गर्न समर्पित गर्ने प्रतिबद्धता जनाए।

अन्त्यमा, पर्वतको समृद्ध भविष्यका लागि नेपाली कांग्रेसको रुख चिन्हमा मतदान गर्न आग्रह गर्दै जोशीले देश निर्माणको यात्रामा साथ दिन हार्दिक अपिल गरेका छन् ।

Logo