सुनचाँदी विलासिता होइन, हाम्रो परम्परा र संस्कृति हो -मुख्यमन्त्री बानियाँ

सुनचाँदी विलासिता होइन, हाम्रो परम्परा र संस्कृति हो -मुख्यमन्त्री बानियाँ

केन्द्रबिन्दु
87
Shares

काठमाडौं | बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सुनचाँदी र आभूषण व्यवसायलाई केवल विलासिताको साधनका रूपमा मात्र हेर्न नहुने बताएका छन‍् ।

आज रत्न तथा आभूषण व्यवसायी महासंघद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले सुनचाँदी नेपाली संस्कार, धर्म र पहिचानसँग जोडिएको विषय भएको बताएकाे हुन् । “पूर्वीय दर्शनमा लक्ष्मी र नारायणलाई पनि सुन र रत्नले सुसज्जित देखिन्छ। यो हाम्रो सत्ययुगदेखिको संस्कृति हो,” उनले भने, “त्यसैले राज्यले यसलाई विलासिता मात्र मानेर हेर्नु गलत हुन्छ, यो हाम्रो आधारभूत पहिरन र परम्परा हो।”

व्यवसायीहरूले विना प्रमाणको सुन किन्दा कानुनी झमेलामा पर्ने गरेको उल्लेख गर्दै उनले अवैध सुनको कारोबार नगर्न प्रशिक्षण दिनुपर्नेमा पनि जोड दिए। उनले भने, “प्रमाण नभएको सुन किन्दा धेरै व्यवसायी जेल जानुपर्ने अवस्था आउँछ। यस्ता समस्याबाट बच्न र सम्मानित व्यवसाय बनाउन अवैध सुन किनबेच पूर्ण रूपमा बन्द गर्नुपर्छ।”

बजारमा सुनको अभाव हुँदा नै चोरी पैठारी बढ्ने तर्क गर्दै मुख्यमन्त्री बानियाँले व्यवसायीको माग र खपतको आधारमा राज्यले वैधानिक बाटोबाटै सुन ल्याउने वातावरण बनाउनुपर्ने बताए। “माग अनुसारको आपूर्ति भएमा अवैध कारोबार स्वतः अन्त्य हुन्छ,” उनले भने । उनले १३ प्रतिशत भ्याटको व्यावहारिक समाधान खोज्नुपर्ने र आयातको समयमै ट्याक्स व्यवस्थापन गरी सामान्य नागरिकलाई मर्का नपर्ने गरी नीति बनाउनुपर्नेमा जोड दिए ।

साथै वर्तमान राजनीतिक परिस्थितिको चर्चा गर्दै मुख्यमन्त्री बानियाँले मुलुकको निकासका लागि आवधिक निर्वाचन अपरिहार्य रहेको बताए । उनले भने, “अहिले निर्वाचन गराउन नदिने शक्तिहरू पनि सक्रिय छन्, तर लोकतन्त्रको रक्षाका लागि निष्पक्ष र धाँधलीरहित निर्वाचन हुनुपर्छ। निर्वाचनपछि बन्ने नयाँ संसदले मात्र सुनचाँदी व्यवसायीका लागि स्पष्ट ऐन र कानुन बनाउन सक्छ।”

Logo