मकवानपुरमा निर्वाचन तयारी तीव्र, पुराना मतपेटिका मर्मतदेखि सुरक्षा व्यवस्थासम्म

मकवानपुरमा निर्वाचन तयारी तीव्र, पुराना मतपेटिका मर्मतदेखि सुरक्षा व्यवस्थासम्म

केन्द्रबिन्दु
18
Shares

हेटौँडा। मकवानपुरमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गर्दै तयारी तीव्र पारिएको छ। प्रदेश निर्वाचन कार्यालय हेटौँडाले विगतका निर्वाचनमा प्रयोग भएका मतपेटिका पुनः प्रयोगमा ल्याउने तयारी गरेको प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार मतपेटिकाको सफाइ, मर्मत तथा प्राविधिक परीक्षणको कार्य अन्तिम चरणमा पुगेको छ।

प्रदेश निर्वाचन कार्यालय परिसरमा कर्मचारीहरू पुराना मतपेटिका धुने, सुकाउने, आवश्यक भाग मर्मत गर्ने तथा ताला–सिल परीक्षण गर्ने कार्यमा व्यस्त छन्। ढकालका अनुसार स्रोतसाधनको अधिकतम उपयोग गर्दै खर्च व्यवस्थापनलाई ध्यानमा राखी पुनः प्रयोगयोग्य सामग्रीलाई प्राथमिकता दिइएको हो। प्राविधिक रूपमा उपयुक्त रहेका मतपेटिका पुनः प्रयोग गर्दा लागत घट्नुका साथै वातावरणीय दृष्टिले पनि सकारात्मक प्रभाव पर्ने उनले बताए।

बाउन्न प्रकारका सामग्रीको व्यवस्थापन

निर्वाचन कार्यालयका अनुसार एक मतदान केन्द्रमा कम्तीमा ५२ प्रकारका सामग्री आवश्यक पर्छन्। ती सामग्रीलाई केन्द्रअनुसार छुट्टाछुट्टै प्याकेजिङ गरी सूचीबद्ध रूपमा तयार पारिँदैछ। प्रत्यक्षतर्फ ४३ लिटर र समानुपातिकतर्फ ८५ लिटर क्षमताका दुई मतपेटिका प्रत्येक मतदान केन्द्रमा पठाइने छन् भने एक जगेडासहित तीनवटा मतपेटिका व्यवस्था गरिएको छ।

यसका अतिरिक्त मतपत्र, मतदाता नामावली, छाप, स्ट्याम्प प्याड, रजिस्टर, फाराम, गोपनीयता पर्दा, सुरक्षा सिल, ट्याग, मसी, स्टिकर, मतदानकक्ष संकेत बोर्ड तथा निर्देशन पुस्तिकालगायत सामग्री तयारी अवस्थामा रहेको कार्यालयले जनाएको छ। मतदानको दिन कुनै सामग्री अभाव नहोस् भन्ने उद्देश्यले प्रत्येक केन्द्रका लागि आवश्यक सामग्रीको पुनः जाँच गरिने व्यवस्था गरिएको छ।

आचारसंहिता कार्यान्वयनमा कडाइ

निर्वाचन आचारसंहिता कार्यान्वयन भइरहेको र हालसम्म कुनै गम्भीर उजुरी नआएको प्रदेश निर्वाचन अधिकारी ढकालले बताए। निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दल तथा उम्मेदवारहरूको प्रचारप्रसार, सार्वजनिक सभा–जुलुस, सामाजिक सञ्जाल प्रयोग, खर्च विवरण तथा अन्य गतिविधिमाथि निगरानी बढाइएको छ।

आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना प्राप्त भएमा तत्काल छानबिन गरी आवश्यक निर्देशन वा कारबाही गर्ने संयन्त्र सक्रिय रहेको उनले बताए। प्रदेश निर्वाचन कार्यालयले स्थानीय तह, निर्वाचन फोकल पर्सन, प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गर्दै अनुगमन कार्य अघि बढाएको जनाएको छ।

तीन हजारभन्दा बढी कर्मचारी परिचालन

मकवानपुरका १७६ मतदानस्थलअन्तर्गत ३७४ मतदान केन्द्रमा स्वयंसेवकसहित तीन हजार ३६६ कर्मचारी परिचालन गरिने भएका छन्। निर्वाचन अवधिभर दुई हजार २४४ कर्मचारी र एक हजार १२२ स्वयंसेवक खटिने ढकालले जानकारी दिए।

प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृतसहित आयोगबाट छ जना कर्मचारी खटाइनेछन्। मतदानस्थलमा तीन जना स्वयंसेवक परिचालन गरिने व्यवस्था गरिएको छ। जनशक्ति व्यवस्थापनको कार्य अन्तिम चरणमा पुगेको र खटाइने कर्मचारीलाई आवश्यक तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेको छ।

चार हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

निर्वाचन सुरक्षित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन करिब चार हजार २०० सुरक्षाकर्मी परिचालन गरिने तयारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी (जनपथ) तथा करिब दुई हजार २०० निर्वाचन प्रहरी परिचालन गरिनेछन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जनपथ प्रहरीको संख्या केही दिनमै टुङ्गो लाग्ने जानकारी दिए। सुरक्षा निकायले संवेदनशील क्षेत्रमा विशेष निगरानी, नियमित गस्ती तथा निर्वाचन गतिविधिको अनुगमन गर्ने जनाएको छ।

मतदानस्थलको वर्गीकरण

जिल्लामा कुल १६७ मतदानस्थलमध्ये १९ अतिसंवेदनशील, ६० संवेदनशील र ८८ सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ। अतिसंवेदनशील सूचीमा २६ मतदान केन्द्र परेका छन्। बकैया गाउँपालिकामा पाँच मतदानस्थल अतिसंवेदनशील रहेका छन् भने राक्सिराङ, बागमती, भीमफेदी, मनहरी र कैलाश गाउँपालिकाका केही स्थल पनि सो सूचीमा समावेश छन्।

संयुक्त अनुगमन टोलीले मतदानस्थलको भौतिक अवस्था, पहुँचमार्ग, सञ्चार सम्पर्क, मतदानकक्ष व्यवस्थापन तथा सुरक्षा अवस्थाको मूल्याङ्कन गरिसकेको छ। भीमफेदीको एक मतदानस्थलमा सडक पहुँच नभएकाले पैदलमार्ग प्रयोग गर्नुपर्ने अवस्था रहेको प्रशासनले जनाएको छ।

तीन लाखभन्दा बढी मतदाता

दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा कुल तीन लाख १५ हजार ३३४ मतदाता रहेका छन्। मतदाता शिक्षालाई प्रभावकारी बनाउन स्थानीय तह र सम्बन्धित निकायमार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन्।

निर्वाचन आयोगले स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। निर्वाचन मिति नजिकिँदै जाँदा मकवानपुरमा प्रशासनिक, प्राविधिक तथा सुरक्षा तयारी तीव्रगतिमा अघि बढिरहेको छ।

Logo