पर्वत। प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनहरी तिमिल्सिनाको चुनावी अभियान यतिबेला गाउँ–गाउँमा पुगिरहेको छ । महाशीलाको उकालो चढ्दै घरदैलोमा पुगेका तिमिल्सिनालाई स्थानीयले अब पर्वतमा नयाँ अनुहार चाहिएको बताएका छन्।
घर–आँगनमा भेटिएका मतदातासँग हात मिलाउँदै तिमिल्सिनाले जनताको विश्वासले आफूलाई थप जिम्मेवार बनाएको बताए। “पर्वतले नयाँ सोच, स्पष्ट भिजन र परिणाम दिने नेतृत्व खोजिरहेको छ,” उनले भने, “यो विश्वासलाई म निराश हुन दिनेछैन ।”
राजनीतिमा बढ्दो आरोप–प्रत्यारोपको संस्कृतिप्रति संकेत गर्दै उनले संसद गाली गर्ने थलो नभएर समाधान दिने मञ्च बन्नुपर्ने उल्लेख गरे । आँफूलाई भोट दिएका जनतामा निराशा आउन नदिने प्रतिवद्धता व्यक्त गर्दै उनले महाशिलाको विकासका लागि भरपुर पहल गर्ने बताए ।
महाशीला आँफैमा भरपुर सम्भावनानै सम्भावनाको भूमि भएको भन्दै उनले सडक,शिक्षा,स्वास्थ्य,रोजगारी अन्य भौतिक पूर्वाधार संगै पहिलो प्राथामिकतामा फलामखानी उत्खनन, यहाँको चिया खेती विस्तार र पर्वद्धन,कृषि तथा पशुपालनमा जनमुखी वृहत योजना,यहाँका चिसापानी मन्दिर र एशियाकै सवैभन्दा ठूलो महाशिला लगायतका धार्मिक तथा एतिहासिक पुरातात्विक सम्पदाहरुलाई विश्व पर्यटनसँग जोड्ने र महाशिलालाई पर्यटन हवका रुपमा विकास गर्ने कुरामा जोड दिए।
लुङ्खु देउराली लाई व्यापारिक केन्द्रका रुपमा विकास गर्ने, यहाँका बहुलजातीय कला संस्कृती लाई प्रर्वद्धन गर्न सदैव लाग्ने भन्दै उनले ग्रामिण भेगमा सञ्चालित होम स्टेहरुलाई व्यवस्थित गर्ने र महाशिलालाई पक्का सडक सहितको रिङरोडले जोड्ने स्पष्ट खाका रहेको बताए।
पर्वतको दीर्घकालीन विकासका लागि उनले ‘पर्वत विकास सम्मेलन’को अवधारणा अघि सारेका छन्। उनका अनुसार महाशिला मात्र नभई जनताको सुझावलाई योजना बनाएर कार्यान्वयन गर्ने र कृषि, पर्यटन, शिक्षा तथा पूर्वाधारमा जिल्लालाई अगाडि बढाउने स्पष्ट रोडम्याप तयार गरिनेछ ।
घरदैलो अभियानमा देखिएको जनसहभागिता र उत्साहले पर्वतको चुनावी माहोल तातेको छ । मतदातासँग प्रत्यक्ष संवादमा रहेका तिमिल्सिना यतिबेला ‘नयाँ नेतृत्व’को सन्देशलाई मुख्य एजेन्डा बनाएर चुनावी मैदानमा सक्रिय छन्।





























प्रतिक्रिया