मनाङ। प्रतिनिधिसभा निर्वाचनको मतदान गर्न १९ दिन बाँकी छ। निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारले चुनावी प्रचारप्रसार तीव्र बनाएका छन्। विभिन्न एजेण्डासहित मतदातामाझ पुग्ने क्रम बढेको छ ।
यसपटक निर्वाचनमा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र मङ्गोल नेशनल अर्गनाइजेसनबीच प्रतिस्पर्धा हुने भएको छ। प्रतिस्पर्धी दलले पर्यटन, पूर्वाधार विकास र जलवायु परिवर्तनलाई मुख्य एजेण्डाका रूपमा अघि सारेका छन्।
नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार टेकबहादुर गुरुङका अनुसार मनाङको मुख्य आयस्रोत पर्यटन भएकाले यसको प्रवद्र्धन र सहज पहुँचमार्ग विकासलाई प्राथमिकतामा राखिएको छ। मनाङमा सडक पहुँच विस्तार आवश्यक रहेको र नार्पाभूमि अझै स्थलमार्गसँग नजोडिएको उहाँको भनाइ छ। सडक सञ्जाल विस्तार भएमा पर्यटक आगमन बढ्ने र आयस्रोतमा वृद्धि हुने अपेक्षा गरिएको छ। साहसिक, ऐतिहासिक र धार्मिक क्षेत्रलाई पर्यटनसँग जोड्ने योजना पनि अघि सारिएको छ ।
मनाङमा जलविद्युत् आयोजना विस्तारको सम्भावनालाई पनि एजेण्डाका रूपमा प्रस्तुत गरिएको छ। तिलिचो ताललगायत तालतलैयालाई धार्मिक पर्यटनसँग जोड्ने योजना रहेको बताइएको छ। हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव बढी पर्ने भएकाले त्यसका प्रभाव न्यूनीकरण र संरक्षणका विषयलाई पनि प्राथमिकतामा राखिएको छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार यशोदा सुवेदी गुरुङले पर्यटनलाई समृद्धिको आधारका रूपमा अघि सारेकी छन्। प्रकृति, संस्कृति र साहसिक पर्यटनको संरक्षण तथा वैकल्पिक पदमार्ग निर्माणलाई प्राथमिकतामा राखिएको बताइएको छ। सडक विस्तारका कारण अन्नपूर्ण पदमार्ग प्रभावित भएकाले वैकल्पिक मार्ग निर्माण आवश्यक रहेको उल्लेख गरिएको छ। तिलिचो ताल, आइसलेक, थोराङ्ला पास, लार्केपास र काङ्ला पासलाई प्रमुख पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना प्रस्तुत गरिएको छ ।
मनाङमा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र नेकपाबीच हुने देखिएको छ। प्रतिनिधिसभा निर्वाचन २०७९ मा कुल ६ हजार ७७९ मतदाता रहेकामा ४ हजार ८२७ मत खसेको थियो। कांग्रेसका टेकबहादुर गुरुङले २ हजार ५७५ मत र एमालेका पोल्देन छोपाङ गुरुङले २ हजार २४७ मत प्राप्त गरेका थिए। समानुपातिकतर्फ कांग्रेसले २ हजार ४३०, एमालेले २ हजार १९१, राष्ट्रिय स्वतन्त्र पार्टीले १४६, नेकपा माओवादीले १३३, जसपाले ८ र जनमोर्चाले २ मत प्राप्त गरेका थिए।
यसपटक मनाङमा महिला ३ हजार ६२३ र पुरुष ३ हजार ३७७ गरी कुल ७ हजार मतदाता रहेका छन्। २९ मतदान केन्द्रमार्फत मतदान हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। नेकपा एमाले र राप्रपाले कांग्रेसलाई समर्थन गरेकाले यसपटकको प्रतिस्पर्धा अघिल्लो निर्वाचनभन्दा फरक हुने देखिएको छ। मुख्य प्रतिस्पर्धीका रूपमा नेपाली कम्युनिष्ट पार्टी देखिएको छ।





























प्रतिक्रिया