मतदाता शिक्षाका लागि स्वयंसेवक घरदैलोमा

मतदाता शिक्षाका लागि स्वयंसेवक घरदैलोमा

केन्द्रबिन्दु
24
Shares

कञ्चनपुर। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी कञ्चनपुरका नौवटै स्थानीय तहमा सोमबारदेखि मतदाता शिक्षाका लागि स्वयंसेवकलाई घरदैलोमा परिचालन गरिएको छ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका ९२ वटै वडामा स्वयंसेवक खटिएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका सूचना अधिकारी भानबहादुर महराका अनुसार मतदाता शिक्षाका लागि बालविकास केन्द्रका सहजकर्तालाई जिम्मेवारी दिइएको छ । विगतका निर्वाचनमा मतदाता शिक्षामा संलग्न र अनुभवी सहजकर्तालाई नै प्राथमिकता दिएर छनोट गरी परिचालन गरिएको उनले जानकारी दिए।

निर्वाचन कार्यालयले नौवटै स्थानीय तहमा एक÷एक जना समन्वयकर्ताको व्यवस्था गरेको छ । उनीहरुमार्फत वडामा स्वयंसेवक परिचालन गर्ने व्यवस्था गरिएको छ । निर्वाचनमा बदर मतको सङ्ख्या घटाएर सदर मतको अनुपात बढाउने उद्देश्यले ‘शून्य बदर मत’ को लक्ष्य राखी यो अभियान सञ्चालन गरिएको सूचना अधिकारी महराले बताए।

घरदैलोमा पुग्ने स्वयंसेवकले नमुना मतपत्रको प्रयोग गरी मत सङ्केत गर्ने सही तरिका, मतपत्र पट्याउने विधि र गोप्य मतदानको महत्वबारे मतदातालाई प्रयोगात्मक जानकारी दिनेछन् ।

विशेषगरी पहिलो पटक मतदान गर्न लागेका नयाँ युवा मतदातालाई यो अभियानले मतदान प्रक्रिया बुझ्न थप सहयोग पुग्ने विश्वास गरिएको छ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा तीन लाख १४ हजार ३८५ मतदाता छन् ।

Skip This
Skip This
Logo