काठमाडौं । नेपाली कांग्रेसले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पार्टी अनुशासन उल्लङ्घन र समानान्तर गतिविधिमा संलग्न भएको आरोपमा कारबाहीको प्रक्रिया अघि बढाउने तयारी गरेको छ । खड्काले ‘कार्यवाहक सभापति’को हैसियतमा दोस्रो पटक वक्तव्य जारी गरेपछि पार्टीले तत्काल कदम चाल्ने भएको हो ।
आज बुधबार बिहान ११ बजे केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको छ । बैठकको मुख्य एजेन्डा खड्काको गतिविधि रहेको स्रोतले जनाएको छ । यही बैठकपछि दिउँसो २ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ, जुन पूर्वनिर्धारित छ।
अनुशासन समितिका संयोजक तथा केन्द्रीय सदस्य तारामान गुरुङले पार्टी अनुशासन नमान्ने जो कोही पनि कारबाहीको दायरामा पर्ने र गल्ती गर्ने कोही संरक्षित नहुने स्पष्ट भनेका छन् । यसअघि चैत १८ गतेको अनुशासन समितिको बैठकले खड्काको नाम नलिई ‘लेटरहेड दुरुपयोग’ गरेमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) र प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।
पूर्वगृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध खड्काले कांग्रेसको लेटरप्याड प्रयोग गरी विज्ञप्ति जारी गरेपछि पहिलो पटक अनुशासन समितिले सचेत गराउने निर्णय गरेको थियो । तर खड्काले त्यसपछि पनि कार्यवाहक सभापतिको हैसियतमा दोस्रो वक्तव्य जारी गरेका छन् ।
त्यसैगरी सभापति गगनकुमार थापाले पनि खड्काको गतिविधिप्रति कडा संकेत गरेका छन् । मंगलबारदेखि सुरु भएको ‘जरा अभियान’मा थापाले आफूलाई सभापतिको हैसियतले सहयोग गर्नु नत्र नसक्नेले डिस्टर्ब नगर्नु भनेर चेतावनी नै दिएका छन् ।
त्यसअघि खड्काले भने निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गर्दै चौधौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको कार्यवाहक सभापतिको हैसियत कायम रहेको दाबी गरिरहेका छन् । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको टोलीले निर्वाचन आयोगबाट आधिकारिकता पाइसके पनि खड्का समूहले समानान्तर गतिविधि जारी राखेको छ ।
अनुशासन समितिको बैठकले खड्काको दोस्रो वक्तव्यलाई कसरी मूल्यांकन गर्छ र कस्तो कारबाहीको सिफारिस गर्छ भन्ने प्रतीक्षाको विषय बनेको छ । पार्टी स्रोतका अनुसार आजको बैठकमा यो मुद्दा केलाएर ठोस निर्णय लिइने तयारी गरेको छ ।





























प्रतिक्रिया