काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले सुकुम्बासी बस्तीमा भइरहेको हस्तक्षेपप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई “विकासको नाममा युद्धकालीन शैली” को संज्ञा दिएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति लक्षित गर्दै उनले विकल्पबिनाको बल प्रयोगले सामाजिक न्यायको धज्जी उडाएको टिप्पणी गरेका हुन् ।
सचिव बस्नेतले आज सामाजिक सञ्जालमार्फत लोकतान्त्रिक समाजमा बन्दुक र डोजरको आडमा नागरिकको आवाज दबाउनु निन्दनीय भएको बताएका छन्। “सुकुम्बासी बस्तीमा प्रहरी बल प्रयोग गरेर जनतालाई आतंकित पार्नु कुनै पनि अर्थमा न्यायोचित हुन सक्दैन,” उनले भने, “बालेन्द्र शाह नेतृत्वको वर्तमान कार्यशैलीले मानवीय संवेदनशीलतालाई लत्याएर कठोर प्रशासनिक दमनलाई प्राथमिकता दिएको छ, जसले सामाजिक न्यायको मूल भावनालाई नै कमजोर बनाउँछ।”
उनले सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि विगतमा नेकपा (एमाले) नेतृत्वको सरकारले आयोग गठन गरी व्यवस्थित पहल गरेको स्मरण गराएका छन् । ती रचनात्मक प्रयासहरूलाई नकारात्मक रूपमा चित्रण गर्दै अहिलेको ‘डोजर-केन्द्रित’ कदमलाई सफलताको रूपमा प्रचार गरिनु यथार्थभन्दा टाढा र अन्यायपूर्ण रहेको उनको दाबी छ।
“विकास भनेको केवल भौतिक संरचना भत्काउनु मात्र होइन, नागरिकको सम्मान र अधिकार सुरक्षित गर्दै विकल्पसहितको समाधान खोज्नु हो,” बस्नेतले थपे ।





























प्रतिक्रिया