काठमाडौं । आजदेखि विद्यालय तहको नयाँ शैक्षिकसत्र २०८३ औपचारिक रूपमा सुरु भएको छ । सरकारले इन्धन आपूर्तिको असहजता र वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयहरूले भर्ना लिने प्रवृत्ति रोक्न वैशाख १५ गतेदेखि भर्ना र २१ गतेदेखि पठनपाठन सुरु गर्ने निर्णय गरेको थियो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले आज एक विज्ञप्तिमार्फत भर्ना प्रक्रिया तत्काल अघि बढाउन अनुरोध गर्दै भने, “आजदेखि शैक्षिकसत्र सुरु भएको छ । विद्यार्थी भर्ना गर्न अनुरोध गर्दछौं । पठनपाठन भने वैशाख २१ गतेदेखि सुरु हुनेछ ।”
यसअघि हरेक वर्ष वैशाख २ गतेदेखि शैक्षिकसत्र सुरु हुँदै आएको थियो । यस वर्षदेखि भने सरकारले वैशाख १५ गतेदेखि भर्ना र २१ गतेदेखि कक्षा सञ्चालन गर्ने नयाँ कार्यतालिका लागू गरेको छ । सरकारको यस्तो निर्णयको मुख्य कारण इन्धन संकट र परीक्षा नतिजा प्रकाशनअघि नै निजी विद्यालयहरूले भर्ना लिने अनुशासनहीन प्रवृत्ति रोक्नु हो । यद्यपि कतिपय स्थानीय तहहरूले वैशाख १५ अघि नै भर्ना प्रक्रिया अघि बढाइसकेका छन् ।
सरकारले गत चैत २२ गते निजी (संस्थागत) विद्यालयहरूलाई कानुनविपरीत उठाइएका भर्ना शुल्क तथा अन्य अतिरिक्त शुल्क फिर्ता गराउन निर्देशन दिएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२ विपरीत उठाइएका सबै शुल्क स्थानीय तहमार्फत फिर्ता गराउन कानुनी प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले शिक्षा नियमावली, २०५९ को नियम ७८ (१) (ग) अनुसार वार्षिक परीक्षाको नतिजा प्रकाशन नभएसम्म, शैक्षिकसत्र औपचारिक रूपमा सुरु नभएसम्म र आवश्यक प्रमाणपत्र (लब्धाङ्कपत्र लगायत) प्राप्त नभएसम्म भर्ना प्रक्रिया सञ्चालन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । अदालतले परीक्षा नतिजा, शैक्षिकसत्र र प्रमाणपत्रबीच समन्वय कायम गर्न समेत जोड दिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रले चैत ५ गते नै वार्षिक परीक्षा सम्पन्न गरी नतिजा प्रकाशनपछि मात्र भर्ना कार्यक्रम सञ्चालन गर्न निर्देशन जारी गरेका थिए । देशभर करिब ७० लाख बालबालिका विद्यालय तहमा अध्ययनरत छन् । सरकारले शैक्षिकसत्र सुरु भइसकेकाले समयमै पाठ्यपुस्तक उपलब्ध गराउने तयारी पनि गरेको छ ।































प्रतिक्रिया