काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालले देशको राज्य सञ्चालनमा रहेका करिब १५ सयभन्दा बढी राजनीतिक नियुक्तिहरू एकै पटक खारेज भएको बताएका छन् । राष्ट्रपतिले अध्यादेश पारित गरेसँगै राजनीतिक आडमा नियुक्त भएका १,५९४ जनाको पद खाली भएको र यसले देश विकासको नयाँ बाटो खोलेको उनको दाबी छ।
सांसद ढकालका अनुसार तीन वर्षअघि अघि सारिएका तीन मुख्य एजेन्डामध्ये दुईवटा पूरा हुने क्रममा रहेका छन् भने ४० वर्ष मुनिको प्रधानमन्त्री बनाउने लक्ष्य सफलताका साथ पूरा भइसकेको छ। विगत ३० वर्षमा हुन नसकेका कामहरू वर्तमान सरकारले एक महिनामै गरेर देखाएको उनले उल्लेख गरेका छन् ।
“क्षमतामा नभई राजनीतिक रङका आधारमा नियुक्त भएकाहरूले देशलाई धमिराले जस्तै खाएका थिए,” ढकालले भने, “अब यी पदहरूमा जमिनदेखि विश्व बुझेका नेपाली विज्ञहरूलाई निष्पक्ष तरिकाले छनोट गरिनेछ। तब मात्र देश सही दिशामा अघि बढ्छ।”
कतिपय जनताका अपेक्षाहरू अझै पूर्ण रूपमा सम्बोधन हुन नसकेको स्वीकार गर्दै उनले ८० प्रतिशत उपलब्धि हासिल भइसकेको र बाँकी २० प्रतिशतका लागि काम भइरहेको बताए । परिवर्तनको क्रममा केहीलाई दुःख पुगेको भए पनि यो ‘शल्यक्रिया’ (अपरेशन) जस्तै अनिवार्य रहेको उनको तर्क छ। “शल्यक्रिया गर्दा केही समय पीडा भए पनि अन्ततः रोग निको हुँदा सबै खुसी हुनेछन्। अब रोग पालेर मृत्यु कुर्न सकिँदैन, देशलाई बचाउन अपरेसन गर्नैपर्छ,” उनले थपे ।





























प्रतिक्रिया